
काठमाडौं, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ, तर नतिजा कहिले आउँछ भनेर अझै निश्चित भइसकेको छैन ।
नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् ।
असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको उनले बताए । उनका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिए पनि प्राविधिक काम बाँकी छ ।
हतारमा नतिजा प्रकाशित गर्दा धेरै त्रुटी हुने सम्भावना भएकाले सकेसम्म त्रुटी नहुने गरी गरी नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको बताइएको छ । अरु कुनै जटिल प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी बोर्डको छ ।
नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड रहे पनि एसइई नतिजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका, २०७२ बाट गर्ने कि २०७८ अनुसार गर्ने भन्नेबारेमा अझै टुङ्गो लागेको छैन । बोर्डले गतवर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरे पनि नतिजा भने २०७२ को पद्धति अनुसार नै गरेको थियो ।
विसं २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था थियो । विसं २०७२ को पद्धतिअनुसार नतिजा प्रकाशित भए ९० देखि १०० ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गर्ने व्यवस्था छ ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’मा राख्ने व्यवस्था छ ।
दुई विषयसम्म नन ग्रेडिङमा परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यसभन्दा धेरै विषयमा नन ग्रेडिङमा परे अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा धेरै विषयमा ननग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।













प्रतिक्रिया