२९ आश्विन २०८३, बिहिबार

निजी विद्यालयले दिने छात्रवृत्तिका लागि काठमाडौं महानगरले विद्यार्थी छनोट गर्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । निजी विद्यालयहरूले कक्षा ११ का विद्यार्थीहरूका लागि उपलब्ध गराउने छात्रवृत्तिका लागि अब काठमाडौं महानगरपालिकाले नै विद्यार्थी छनोट गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिका लागि महानगर आफैंले विद्यार्थी छनोट गर्ने भएको हो ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी, गरिबलगायत छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ महानगरप्रमुख बालेन्द्र साह ‘बालेन’ले आइतबार साँझ जानकारी दिएका छन् ।

छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिने र त्यसका लागि विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

कामपाको पटक–पटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेस गर्न थालेका छन् । हाल कामपामा ५०४ निजी विद्यालय सञ्चालनमा रहेकामा तीमध्ये ९० प्रतिशत विद्यालयले छात्राबृत्तिका लागि विद्यार्थीको नाम पेस गरिसकेका छन् । प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ ।

कामपाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिएको थियो । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० मा भएको व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ ।

जम्मा विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले नियमअनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको नाम नै सार्वजनिक गरेपछि निजी विद्यालय विवरण लिएर आएका हुन् । हाल कामपामा ५०४ निजी तथा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छ ।