
काठमाडौं, १७ असार । तत्कालीन प्रदेश नं. १ को नाम कोशी राखेको विरोधमा केही महिनायता पहिचानवादीहरूले विरोध जनाउँदै आएका छन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिमा प्रदेश १ को नाम कोशी राखिए पनि त्यसमा चित्त नबुझाएका पहिचानवादीहरूले प्रदेश १ को नामा कोशी उपयुक्त नभएको भन्दै विरोध जनाउँदै आएका छन् । त्यतिमात्र होइन एमाले नेतृत्वको प्रदेश सरकारले कोशी नामाकरण गरेको भन्दै उनीहरूले एमालेका नेताहरूमाथि आक्रमणको क्रम समेत तीव्र पारिरहेका छन् ।
यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रदेश संसदीय दलका नेता र केही स्थानीय तहका जनप्रतिनिधिलाई समेत आक्रमण गरेका उनीहरूले पछिल्लो समय एमालेका सचिव योगेश भट्टराईमाथि अवरोध र गैरराजनीतिक हर्कत गरेका छन् । त्यो हर्कतपछि विभिन्न राजनीतिक दलका नेताहरूले आन्दोलनका नाममा भएका यस्ता गतिविधि लोकतन्त्रविरोधी भएको भन्दै आलोचना गरिरहेका छन् ।
यसैबीच, आज नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा, नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेताहरूमाथिको आक्रमण पूर्णत: बेठिक भएको तर्क गरेका छन् ।
कांग्रेस सांसद रामहरि खतिवडाले कसैलाई आक्रमण गरेर समस्या समाधान नहुने भन्दै एमालेले पनि उग्र राष्ट्रवादीका नाममा एउटामात्रै पक्षमा अडान लिन नहुने र सत्तापक्षले पनि कसैलाई बाइपास गरेर जान नहुने बताए । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले कोशीमा देखिएको समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिए ।
यस्तै, नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । कोशी प्रदेशमा पहिचान पक्षधरसँग सम्वाद छलफल गरेर समस्या हल गर्ने पक्षमा रहेको भन्दै एमाले नेतृत्वलाई प्रहार गरेर केहि नहुने बताए ।
उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सवैको भाषाभाषी, जातजातीलाई एमालेले स्वीकार गर्ने तर नेपाल राष्ट्र कुनै एउटा जातीको राष्ट्र नभएको बताए । एमाले सबैको साझा पहिचानको पक्षमा रहेको उनको भनाइ छ । उनले कोशी प्रदेशको नामकरणमा कसैको आपत्ति हुन सक्ने भएकाले संवैधानिक प्रक्रियाबाट भएको कुरालाई चित नबुझे अर्को संवैधानिक प्रक्रियाबाट बदल्न सकिने धारणा व्यक्त गर्दै समस्या समाधानका लागि सम्वादमा आउन पनि आह्वान गरेका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशीको बिषयमा साझा एजेण्डा बनाएर छलफलमा जाँदा मात्रै समस्या समाधान हुने बताए । कोशी प्रदेशमा संघर्ष समिति बनाएर नै आन्दोलन भइरहेको अवस्थामा कुनै दल विशेषको मात्रै आन्दोलन भनेर बुझ्न नहुने उनको भनाइ छ ।
सांसद सापकोटाले एमालेले कोशीको पक्षमा धेरै अडान लिएका कारण एमालेप्रति बढि बिरोध भएको बताए । बहुसंख्यक जनताको धारणा अनुसार विगतमा भएका त्रुटीलाई सच्चाउँदै अघि बढ्नुपर्ने धारणा उनको छ ।













प्रतिक्रिया