२९ आश्विन २०८३, बिहिबार

‘एमालेका नेताहरूमाथि ‘पहिचानको ढुङ्गा’ वर्षाएर कोशी प्रदेशको नाम परिवर्तन होला ?’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पहिचानका नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अन्य नेताहरूमाथि ढुङ्गा प्रहार गरेर कोशी प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा हिजो शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै नेम्वाङले आदिवासी जनजातिका अधिकारका लागि महत्वपूर्ण पहलकदमी लिने नेकपा एमाले र यसका नेताहरूमाथि ‘पहिचानको ढुङ्गा’ वर्षाइएकामा आश्चर्य प्रकट गरे ।

‘हामी कुनै पनि विषयमा असहमति हुँदा शान्तिपूर्ण विरोध गरिनुपर्छ भन्नेमा विश्वास गर्छौं, उपाध्यक्ष नेम्वाङले प्रश्न गर्दै भने, ‘कार्यकर्ता भेट्न जाँदा नेकपा एमालेका अध्यक्षमाथि ढुङ्गा प्रहार गरेर नाम परिवर्तन होला त ? के यो नाम परिवर्तन गर्नकै लागि हो ?’

उपाध्यक्ष नेम्वाङले भने, ‘समाजमा रहेका जातीय, भाषिक, साँस्कृतिक सबै खालका विभेद समाप्त हुनुपर्छ भन्ने कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति नेकपा एमालेमाथि जानेर हानेको होला भन्ने मलाई लाग्दैन ।

प्रदेशको नामाकरण अधिकार संविधान लेख्दा नै प्रदेश सभालाई दिइएको हुँदा कोशीलगायत सबै प्रदेशको नामाकरण प्रदेश सभाले विधि र प्रक्रिया अनुसार दुईतिहाई बहुमतबाट पारित गरी राखिएको स्पष्ट गर्दै संविधान सभाका अध्यक्ष नेम्वाङले असन्तुष्ट समूहले जनताको मन जितेर प्रदेश सभामा दुईतिहाई पुर्‍याई नाम परिवर्तन गर्नसक्ने व्यवस्था पनि संविधानमै भएको उल्लेख गरे ।

उनले भने, ‘कोशी प्रदेश नामाकरणमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत पार्टीका प्रदेश सभा सदस्यले खर्‍याक–खुरुक मतदान गरे तर पहिचानको ढुङ्गा र मोविल एमालेका नेतामाथि ? यसलाई कसरी हेर्ने ?’

उपाध्यक्ष नेम्वाङले पहिचानका नाममा कोशी प्रदेशमा भइरहेका हिंसात्मक गतिविधिमा विगतमा एम्बुस थाप्नेहरूकै संलग्नता रहेको छ भन्ने आफूले सुनिरहेको बताए ।