बनेपा, १४ जेठ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अहिले राष्ट्रिय सहमतिको सरकार प्राथमिकताको विषय नभएको बताउनुभएको छ ।
राष्ट्रिय सहमतिको सरकार बनाएर मुलुकमा देखिएको विपत्को सामना गर्नुपर्ने भन्ने बहस चलिरहेका बेला आज धुलिखेलमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधान निर्माणको सुनिश्चितता र भूकम्पबाट भएको क्षतिका बारेमा पुनःनिर्माणको नीति आएपछि मात्रै पार्टीले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा सोच्ने बताउनुभयो ।
“यो विपत्को सामना गर्ने बलियो उपाय राष्ट्रिय एकता नै हो, त्यसका लागि राजनीतिक पार्टी, कर्मचारी, नागरिक समाज सबै एक ढिक्का हुन जरुरी छ”– अध्यक्ष दाहालले भन्नुभयो ।
उहाँले भूकम्पपीडितलाई राहत उपलब्ध गराउने विषय नै सबैभन्दा बढी प्राथमिकताको विषय भएको जानकारी दिँदै पीडित समुदायलाई अहिले सबैले सहयोग गर्नु पर्ने खाँचो औँँल्याउनुभयो ।
यसअघि अध्यक्ष दाहालले अमेरिकी संस्था मेड सेयरले ग्रामीण सामुदायिक विकास सेवा परिषद्लाई उपलब्ध गराएको ६०० कार्टुन औषधि र उपकरण धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा राजेन्द्र कोजुलाई हस्तान्तरण गर्नुभयो ।
भूकम्पबाट घाइतेको उपचारपछि धुलिखेल अस्पतालमा औषधि तथा उपकरणको अभाव हुन थालेको थियो । रासस












प्रतिक्रिया