२९ आश्विन २०८३, बिहिबार

जबजको सिद्धान्तले मात्रै समाजवादमा पुग्न सकिन्छ : ईश्वर पोखरेल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, १४ असार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तले मात्रै समाजवादमा पुग्न सकिने बताएका छन् ।

जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्तीका अवसरमा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तले मात्रै समाजवादमा पुग्न सकिने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनमा भण्डारीको योगदान र जबजबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेपालका राजनीतिक दलहरु र त्यसका भिन्नताका सन्दर्भमा प्रकाश पारेका थिए । एमाले सर्वहारा वर्गको पार्टीले भएकाले यस पार्टीले अबलम्बन गर्ने नीति सर्वहारा वर्गको उत्थान र समाज रुपान्तरणमा केन्द्रित हुने उनको जिकिर छ ।

यसैगरी, एमालेका स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठनका प्रमुख भानुभक्त ढकालले पार्टी सञ्चालन गरेको मिसन २०८४ र जनवर्गीय संगठनको भूमिकाका बारेमा धारणा राखेका थिए । २०८४ मा एमालेले ५१ प्रतिशत मत प्राप्त गर्ने लक्ष्य लिएकाले जनवर्गीय संगठनहरु पनि सोही अनुसार परिचालित हुनुपर्नेमा उनको जोड छ ।

त्यस्तै, एमालेका युवा नेता माधव ढुंगेलले समसामयिक राजनीति र खेलकुद महासंघले गर्नेसक्ने विषयका बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशको खेलकुद महासंघका १० जिल्लाका जिल्ला कमिटीका अध्यक्ष र सचिव, महानगर कमिटीका अध्यक्ष र सचिव, प्रदेश कमिटीको कार्यसमिति तथा भुगोलाबाट केन्द्रीय कमिटीमा रहेका नेता तथा कार्यकर्ताहरुको सहभागिता छ ।

धुलिखेलमा आजबाट सुरू भएको प्रशिक्षण कार्यक्रम भोलि समापन हुनेछ ।

कार्यक्रम नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीका अध्यक्ष सिताराम कार्कीको अध्यक्षतामा भएको हो ।