३० आश्विन २०८३, शुक्रबार

ब्रिटिश कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ ।

कलेजले हिजो बुधबारदेखि सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो ।

विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्‍याउने उद्देश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरूले अझै नयाँ–नयाँ कुराहरू सिक्न पाउने उनको भनाइ छ ।

साथै, कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा यो एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उनले जानकारी दिए ।

‘कलेजले अत्याधुनिक भीआर ल्याब सञ्चालनमा ल्याएकाले म धेरै खुशी छु । यस प्रकारका अत्याधुनिक ल्याबमार्फत विद्यार्थीहरूले डिजिटल युगको लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन् । साथै, गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता यस कार्यले पनि पुष्टि गरेको छ,’ सीईओ कँडेलले भने ।

कार्यक्रममा फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सञ्जिव सुब्बाले विद्यार्थीहरूका लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए । उनी भन्छन्, ‘ब्रिटिश कलेजको आफ्नो पाठ्यक्रममा भीआर समावेशले उत्साहित बनाएको छ । कलेजले नयाँ प्रविधिलाई यसरी अँगाल्नुले टेक्नोलोजी क्षेत्रमा ठूलो कदम चालेको प्रष्ट हुन्छ । मलाई लाग्छ कि यो विद्यार्थीहरूका लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर हुनेछ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विकासका लागि सहयोग गर्नेछ ।’

भीआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरू जस्तै: भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लिकेशनलगायत छन् । यी सफ्टवेयर तथा उपकरणहरूको प्रयोगबाट विद्यार्थीहरूले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्‍याउन सक्नेछन् ।

कलेजका उपप्रध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले भने, ‘ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई अत्याधुनिक प्रविधिमार्फत अध्ययन गराइन्छ भन्ने यसले प्रष्ट गर्छ । भीआर ल्याब एउटा उदाहरणमात्र हो । कलेज भ्रमणका लागि उत्साहित सम्भावित विद्यार्थीहरूले यसको अनुभव लिन सक्नेछन् ।’