
काठमाडौं, १४ असार । नेपाल टेलिभिजनबाट साप्ताहिकरूपमा प्रशारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियनस्’ मा समावेश गरिएको एउटा विषयप्रति गन्धर्भ सांस्कृतिक कला संगठनले आपत्ति जनाएको छ ।
नेपालको लोकसंगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षित गरी निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्मसम्मानमा आघात पुगेको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारीले सञ्चालन गर्दै आइरहेको उक्त कार्यक्रममा गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेशा, सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुँदा उक्त दृश्यमाथि संगठनले आपत्ति जनाएको बताएको छ ।
संगठनका महासचिव अनिल गन्धर्वले विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा पटक—पटक गन्धर्व समुदाय र समुदायसँग जोडिएको सारङ्गी बाजालाई लिएर बनाइएको पात्रले समुदायको कला, संस्कृति, सारङ्गीलाई अवहेलनाका दृष्टिले प्रस्तुत गरेको र यसले सिंगो समुदायको आत्मसम्मान र प्रतिष्ठामाथि नै आघात पुर्याएकाले तत्काल उक्त पात्रसँग जोडिएका श्रृंखलाहरू हटाउन र सार्वजनिक रूपमा माफी माग्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
उनले यस विषयमा कार्यक्रम प्रस्तोता भण्डारीलाई जानकारी गराउँदा पनि उक्त कार्यक्रममा गन्धर्व समुदाय र सो समुदायसँग जोडिएको कला, संस्कृति र बाजालाई अवहेलनाका दृष्टिले निरन्तर प्रस्तुत गर्दै आइरहेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।
नेपाली कला, संस्कृतिको पहिचान बोकेको गन्धर्व समुदायले आमसञ्चारको विकास अघिदेखि गीत संगीतको माध्ययबाट सूचनाको आदनप्रदानमा सहयात्री बन्दै आइरहेका छन् । ‘गन्धर्व र सारङ्गीले देशको लोक संस्कृतिको प्रतिनिधित्व गर्नेमा कुनै दुई मत छैन्, हामीले देशको लोकसंस्कृतिमा दिएको योगदान आजपनि उत्तिकै सान्दर्भिक छ । देशमा भएका विभिन्न परिवर्तनमा यस समुदायले संगीतको माध्ययमबाट खेलेको भूमिका हामीले भनिराख्नु पर्दैन, यस्ता कार्यक्रमले सिंगो समुदायमाथि आघात पुगेकाले यस्ता दृश्य तत्काल हटाउनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
संस्थाका महासचिव गन्धर्वले गन्धर्व समुदायको मौलिक बाजा सारङ्गी एउटा वाद्य यन्त्रमात्रै नभइ, राष्ट्रको पहिचान, जीवन, एकताको प्रतीक र इतिहास भएको बताउँछन् । गन्धर्व समुदायले देशका विभिन्न कालखण्डमा भएका सामाजिक एवम् राजनीतिक आन्दोलनमा पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै यस्ता सस्तो लोकप्रियताका लागि प्रस्तुत गरिने पात्र र कार्यक्रमले सिंगो समुदायलाई आघात पुर्याएको महासचिव गन्धर्वले बताए ।
उनले उक्त कार्यक्रममा समावेश भएको गन्धर्व पात्र तत्काल हटाउन र सारङ्गीलाई मर्यादितरूपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । उनले सो कार्यक्रमबाट गन्धर्व पात्रसँग सम्बन्धित सम्पुर्ण दृश्यहरू नहटाइए कानुनी कारबाहीका लागि अघि बढ्ने चेतावनी समेत दिएका छन् ।
यस्तो थियो प्रस्तुती–
हेर्नुहोस् विज्ञप्ति–














प्रतिक्रिया