२९ आश्विन २०८३, बिहिबार

योगेश भट्टराईमाथिको व्यवहार निन्दनीय छ, हिंसात्मक गतिविधिबाट नाम परिवर्तन हुँदैन : एमाले

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । नेकपा एमालेले पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईमाथि पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले इलाममा गरेको आक्रमणको प्रयास र दुर्व्यवहारको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीको तर्फबाट केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गरी विधिको शासनविपरीत र कानुनलाई हातमा लिएर घटाइएको घटना निन्दनीय र भर्त्सनायोग्य रहेको जनाएको हो ।

‘संविधान र कानुनी व्यवस्था अनुसार प्रदेश सभाको दुईतिहाई बहुमतबाट भएको कोशी प्रदेश नामाकरणमा असहमति राख्ने समूहले नेकपा (एमाले) र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो श्रृङ्खलाका रूपमा आज इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

संविधान र कानुनी व्यवस्था अनुसार प्रदेश सभाको दुईतिहाई बहुमतबाट नामाकरण गरिएको कोशी प्रदेश पुन: प्रक्रियाद्वारा मात्रै परिवर्तन गर्न सकिने स्पष्ट गर्दै एमालेले उच्छृङ्खल र हिंसात्मक बाटो अपनाउनु कानुनी राज्यको उपहास भएको जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामाकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुनसक्दैन भन्नेतर्फ उक्त समूहलाई हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, हिंसात्मक गतिविधि नियन्त्रणमा देखिएको सरकारको उदासिनताप्रति गम्भीर आपत्ति प्रकट गर्दछ ।’

यसैबीच, आक्रमणमा परेका सचिव भट्टराईले आफूमाथि आक्रमण गर्ने प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका भएको र यो कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । एमाले संवादका लागि सधैं तयार रहेको बताउँदै उनले मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु लज्जाको विषय भएको प्रतिक्रिया दिएका छन् ।

घटनापछि आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्–

मदन भण्डारी फाउण्डेसन ईलामले ७२औँ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा ईलामबाजारमा केही व्यक्तिले कालो झन्डा देखाउनु भायो ।

कार्यक्रम ईलामको जिविस हलमा सानदार रुपले सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तब्य राखेको उक्त कार्यक्रममा सहभागिता मुलक छलफल पनि भएको थियो ।

एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूती भएको छ ।

हाम्रो भनाइ यही छ कि बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन ।

एमाले वार्ता र संवादका लागि हरबखत तयार छ । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम वहाँहरुका लागि पनि लज्जाको बिषय हो ।

सचिव भट्टराईमाथि पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले इलाममा आक्रमणको प्रयास गरेका थिए । ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईमाथि पहिचान पक्षधरहरूले आक्रमण प्रयास गरेका हुन् ।