
विराटनगर, १४ असार । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सचिव राजेन्द्र राईले सपनामा पनि नेकपा एमाले नै देख्ने गरेको बताएका छन् ।
एमालेबाट करिब दुईवर्ष अघि छुट्टिएको नेकपा एकीकृत समाजवादी पछिल्लो समय सङ्कटमा पर्दै गएको अवस्थामा सचिव राइले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
‘एमाले कै झण्डा बोकेर हिडेको देख्छु । एमालेकै तर्फबाट ढुंगामुडा गरेको देख्छु । जतिबेला पनि एमाले नै देख्छु,’ राईले भने, ‘तर एमालेले हामीलाई लिन चाहेन । अरु बेला खोजेन । अहिले विश्वासको मत चाहिने बेलामा मात्र खोज्यो ।’
पूर्वमुख्यमन्त्री एवम् नेकपा एसका कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका उनले आफू एमालेमा मिसिन लालायित भएको समेत उल्लेख गरेका छन् ।
एमाले र समाजवादी मिल्दा अन्य दलको सहयोग पनि खासै नचाहिने अवस्था हुँदा पनि मुख्यमन्त्री हिक्मत कार्कीले आफूहरुलाई धेरै महत्व नदिएकोमा गुनासो व्यक्त गरेका छन् । ‘हामी दुई मिल्दा पनि संसदीय दलको नेता तपाईं नै हुनुहुन्थ्यो,’ मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै राईले भने, ‘तर उहाँले न पार्टी मिलाउने कुरा गर्नुभयो । न बजेटको बेला खोज्नु भयो । केवल विश्वासको मत चाहिने बेलामा मात्र खोज्नु भयो । यसो गरेपछि कसरी विश्वासको मत दिँउ ?’













प्रतिक्रिया