
अछाम, १४ असार । नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पछि अर्को विश्वास गुमाउँदै गएको बताएका छन् ।
प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले नेकपा एमाले अहिले सत्ताको लडाइँमा नरहेको बताएका हुन् ।
‘फेरि सरकार परिवर्तन गर्ने, सत्ताको खेलमा राजनीतिलाई अल्झाउने कुरामा हाम्रो धेरै चासो छैन, उहाँको आफ्नै सङ्कटले अप्ठेरोमा पर्दै जाने, सरकार असफल हुँदै जाने कुरा प्रष्ट छ’, ज्ञवालीले भने ।
नेकपा एमाले राष्ट्रका समस्या कसरी समाधान गर्न सकिन्छ र सबै राजनीतिक शक्तिलाई कसरी मिलाएर लिएर जान सकिन्छ भन्ने कुरामा नै केन्द्रित रहेको ज्ञवालीको भनाइ छ ।
प्रधानमन्त्री बन्दा दुई जनाबाहेक सबै सांसदबाट विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले राजनीतिक दललाई प्रयोग गर र फालको नीति र राजनीतिलाई दाउपेचको खेल बनाउँदा बजेट पास गर्ने बेलासम्म आइपुग्दा निरन्तर विश्वास गुमाउँदै आएको बताएका छन् ।
प्रचण्डले तरल राजनीतिमा खेल्न खोज्दा देशले यो नियति भोग्नुपरेको ज्ञवालीको भनाइ छ । देश अहिले अप्ठेरो अवस्थामा रहेकोले असंलग्न परराष्ट्र नीतिलाई जोगाएर लैजानु पर्ने अवस्था रहेको उनको भनाइ छ ।
त्यस्तै, देशको अर्थतन्त्र निक्कै अप्ठेरो अवस्थामा रहेकाले त्यसलाई संकटबाट बाहिर ल्याउनु पर्ने स्थिति रहेको उनको भनाइ छ । समाजमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने कुरा पनि त्यत्तिकै चुनौतीपूर्ण रहेको ज्ञवालीले बताए ।















प्रतिक्रिया