२८ आश्विन २०८३, बुधबार

सबैभन्दा जोखिममा मोटरसाइकल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । काठमाडौं मातातीर्थका रमेश इटनी दम्पतीको सोमबार बिहानको रौनक भिन्नै थियो । पत्नी मेनुकासहित बिहे भोजको पोसाकमा सजिएका थिए रमेश । चालक रमेश मोटरसाइकलको अगाडि बसे, पत्नी मेनुका पछाडि । बिहान ९ बजेतिर दुवैजना घरबाट निस्किए । घरबाट निस्केको करिब १५ मिनेटपछि सतुंगल आइपुगे उनीहरू । सतुंगलमा उनीहरू चढेको मोटरसाइकललाई पछिबाट आएको बसले ठक्कर दियो ।

बसको ठक्करबाट मेनुका गम्भीर घाइते भइन्, रमेशलाई सामान्य चोटपटक लाग्यो । मोटरसाइकलसँगै सडकमा लडेकी मेनुकालाई बसको टायरले किचेको थियो । वीर अस्पताल ल्याउँदाल्याउँदै उनको निधन भयो । इटनी दम्पती वनस्थलीस्थित गाउँका आफन्तको बिहेमा सामेल हुन हिँडेका थिए । रमेश धादिङबाट केही वर्षअघि बसाइँ सरेर काठमाडौं आएका हुन् । दुवै छोरा अमेरिका गएकाले इटनी दम्पती मात्र घरमा बस्थे । ठक्कर दिएको बसचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै आइतबार काठमाडौं वनस्थली ढुंगेधारामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा चारजना घाइते भए । जसमध्ये एउटा मोटरसाइकलको पछाडिको सिटमा बसेकी २७ वर्षीया अस्मिता कार्की गम्भीर घाइते भइन् । उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

यी प्रतिनिधि घटना मात्र हुन् । देशभरिमा दैनिक सानाठुला सडक दुर्घटना भइरहन्छन् । सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल यात्रुको मृत्यु हुने गरेको तथ्यांक हालै सार्वजनिक नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण, २०२२ मा उल्लेख छ । सो सर्वेक्षणअनुसार नेपालमा सवारी दुर्घटनाका कारण एक वर्षमा प्रति एक लाखमा १४ जनाको मृत्यु हुने गरेको छ । यो हिसाबले हेर्दा एक वर्षमा ४ हजार ६० जनाको सडक दुर्घटनामा मृत्यु हुन्छ । जनगणना २०७८ अनुसार अहिले नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ प्रतिशत मोटरसाइकलयात्रु छन् । यस आधारमा हेर्दा मोटरसाइकल दुर्घटनामा वर्षमा दुई हजार सात सय ६० जनाको ज्यान जान्छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार सडक दुर्घटनामा आर्थिक वर्ष २०७८-७९ मा ५ हजार ९ सय ६०, आव २०७७-७८ मा दुई हजार आठ सय ५९, आव २०७६-७७ मा ३ हजार ८ सय ९९ र २०७४-७५ मा एक हजार दुई सय ८४ जनाको सडक दुर्घटनाका कारण मृत्यु भएको छ ।

नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण, २०२२ अनुसार सडक दुर्घटनामा मृत्यु हुनेमा महिला र बालिकाभन्दा बढी पुरुष र बालक छन् । सर्वेक्षणमा सडक दुर्घटनामा पुरुष र बालकको मृत्यु प्रतिएक लाखमा ११ जना तथा महिला र बालिकाको मृत्यु प्रतिएक लाखमा तीनजना रहेको देखाइएको छ । सर्वेक्षणअनुसार मोटरसाइकल दुर्घटना गाउँमा भन्दा बढी सहरी क्षेत्रमा र हिमाली क्षेत्रमा भन्दा बढी तराईमा हुने गरेको छ । उपत्यका ट्राफिक कन्ट्रोल कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार मोटरसाइकल दुर्घटनामा दुईजना चढेको अवस्थामा पछि बस्नेलाई बढी क्षति हुने गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।