२९ आश्विन २०८३, बिहिबार

पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरू (फोटोहरू)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

हिजो सोमबारदेखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सुरू भएको तालिममा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ जना पत्रकार महिलाहरूको सहभागिता छ ।

तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटनका बारेमा समेत प्रशिक्षण दिइने छ ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को सहकार्य र सञ्चारिका समूह नेपालको संयोजनमा तीन दिनसम्म चल्ने तालिम नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रूपमा सञ्चालित जीविकोपार्जनको पुन:उत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले आयोजना गरेको हो ।

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकार महीलाहरुका लागि यो तालीम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए ।

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले पछिल्लो समय पत्रकारितामा महिला सहभागिता बढिरहेको सन्दर्भमा यो तालीमले पर्यटन क्षेत्रमा क्यामेरा चलाउने पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि हुने बताइन् ।

त्यस्तै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले फोटो पत्रकारिताका काम गर्दै गरेका तथा नयाँ आयउन चाहनेलाई समेत सहज हुने बताए ।

एसटीएलआरपीले पर्यटनका अन्य क्षेत्रमा तालिम संचालन गरिरहेको सन्दर्भमा पत्रकार महीलाहरुको फोटो पत्रकारिताको क्षेत्रमा क्षमता अभिवृछि होस भनेर यो तालिमको आयोजना गरिएको परियोजनाका जीवीकोपार्जन विज्ञ धर्म दवाडीले बताए । दवाडीका अनुसार परियोजनाले छिट्टै राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)सँगको सहकार्यमा पुरुष तथा महिला दुबै पत्रकारहरुका लागि अर्को तालिम समेत आयोजना गर्नेछ ।

तालिमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले नेपालको भूगोल, धर्म, कला, संस्कृतिका साथै पर्यटन पत्रकारिताका बारेमा प्रशिक्षण दिए भने प्रशिक्षक राजन काफ्लले फोटो पत्रकारिताको शैद्धान्तिक विषय तथा क्यामेराको संचालन लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

तालिमको मंगलबार बुधबारको शेसनमा फोटो पत्रकारहरु सुनिल शर्मा र सुशील श्रेष्ठ लगायतले प्रशिक्षण दिने छन् । यस्तै, वरिष्ठ फोटो पत्रकारहरु मीन बज्राचार्य र विकास कार्कीले फोटो पत्रकारिताको अनुभव र नयाँ आयामबारे आफ्ना अनुभव साट्ने छन् ।