२८ आश्विन २०८३, बुधबार

चुरोट, खैनीको लत छुटाउन ‘निकोटेक्स’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । सरकारले खैनी, चुरोटको अम्मल छुटाउन वितरण गर्न थालेको ‘निकोटेक्स’ सकिएपछि अम्मलीहरू अप्ठेरोमा परेका छन् । पहिलोपटक प्रयोग गर्न आउने र फलोअपमा आउनेहरू निकोटेक्स सकिएपछि अप्ठेरोमा परेको वीर अस्पताल अन्कोलोेजी विभागले जनाएको छ । गत जेठ पहिलो सातादेखि अस्पतालले खैनी, चुरोटका अम्मलीलाई अम्मल छुटाउन परामर्श सेवासहित निकोटेक्स वितरण सुरु गरेको थियो ।

सुर्तीजन्य पदार्थको अम्मल छाड्न चाहनेहरूका लागि परामर्शसहित निकोटेक्स दिन थालिएको हो । वीर र भक्तपुर क्यान्सर अस्पतालको अन्कोलोजी विभागको सुर्तीजन्य पदार्थको लत छुटाउने युनिटले यो सेवा सुरु गरेको हो ।

सुर्तीजन्य पदार्थ छाड्न चाहनेलाई सुरुमा परामर्श दिएर बढीमा ६ सातासम्म स्वास्थ्यकर्मीको निगरानीमा ‘निकोटेक्स’ सेवन गर्न दिइन्छ । चुइँगमजस्तै हुने निकोटेक्स मुखमा खैनीजस्तै च्याप्न सकिन्छ । यसको प्रयोगपछि खैनी, चुरोटलगायत सुर्तीजन्य पदार्थको लत छोड्न सकिन्छ ।

निकोटेक्स सकिएपछि फलोअपमा आउनेलाई अपुग भएको वीर अस्पताल अन्कोलोजी विभागको निकोटेक्स युनिटकी नर्स विमला रिसालले बताइन् । उनका अनुसार अस्पतालले प्रयोगकर्ताको आवश्यकता र प्रभाव हेरेर निकोटेक्स दिन्छ । निकोटेक्स सकिएपछि फलोअपमा आएका सबैभन्दा बढी मारमा परेको जानकारी उनले दिइन् । ‘फलोअपमा आउनेहरू निकोटेक्स नपाएर अलपत्र छन्, नयाँ आउनेले त पाएकै छैनन्’, उनले भनिन् । रिसालका अनुसार अस्पतालमा निकोटेक्स लिन आएका त्यसै फर्कन थालेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालले भने फलोअपमा आउनेलाई मात्र दिन थालेको छ । नयाँलाई दिन नसके पनि फलोअपमा आउनेको हकमा भने व्यवस्थापन गरिरहेको भक्तपुर क्यान्सर अस्पतालका अन्कोलोजिस्ट डा. रोशन श्रेष्ठले बताए ।

भक्तपुर क्यान्सर अस्पतालकी निकोटेक्स सेवाकी नर्स राजमतीका अनुसार हालसम्म १६ जनाले यो सेवा लिएका छन् । तर नयाँ आउनेका लागि निकोटेक्स छैन । ललितपुर सुनाकोठीका ३९ वर्षीय नवीन बराल एक दशकदेखि सुर्तीका अम्मली हुन् । यो अम्मल छोड्नुपर्छ भन्ने लागे पनि उनले खास उपाय भेट्टाउन सकेका थिएनन् । वीर अस्पतालमा सुर्तीजन्य पदार्थको अम्मल छुटाउने सेवा सुरु भएको कुरा अन्य अम्मलीबाट थाहा पाएपछि उनी अस्पताल पुगे ।

सुरुमा स्वास्थ्यकर्मीले एक साताका लागि मात्र निकोटेक्स दिएर पठाए । त्यो प्रयोग गरुन्जेल सुर्तीको तलतल लागेन । निकोटेक्स सकिएपछि उनी थप मात्रा लिन वीरमा पुगे । तर वीरले सकिएको जवाफ दियो। त्यसपछि उनी फेरि सुर्ती सेवनतिर लागे । पुरा मात्रा निकोटेक्स पाएमा सुर्ती छाड्न सकिने आफूलाई लागेको उनले बताए। ‘थप निकोटेक्स आएपछि अस्पतालले दिने भनेको छ’, उनले भने ।

निकोटेक्स सकिएपछि वीर अस्पतालको निकोटेक्स वितरण शाखाले सूचना टाँसेर कार्यकक्षको ढोका बन्द गरेको छ । सूचनामा लेखिएको छ, ‘अहिलेलाई अर्को सूचना नआएसम्मका लागि यो सेवा बन्द गरिएको छ ।’ निकोटेक्स प्रयोग गर्न चाह्ने धेरै भएपछि सूचनामार्फत सकिएको जानकार गराउनुपरेको वीर अस्पताल अन्कोलोजी विभाग प्रमुख डा. विवेक आचार्यले बताए । ‘अब सरकारले पठाएमात्र दिन सक्छौं, पछिल्लो फलोअपमा आएकालाई दिन सकेनौं’, उनले भने । आजको नागरिक दैनिकमा खबर छ ।