
काठमाडौं, ९ असार । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगितामा नेपाल समूह चरणबाट बाहिरिएको छ ।
भारतको बैङ्गलोरस्थित कान्तिराभ रङ्गशालामा सम्पन्न खेलमा साविक विजेता भारतसँग २–० गोलअन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । भारतको जितमा सुनिल क्षेत्री र महेशसिंह नोरिमले एक–एक गोल गरे ।
खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल खायो । खेलको ६१औँ मिनेटमा सुनिलले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा महेशले गोल गर्दै भारतलाई २–० को सहज जित दिलाए ।
समूह ‘ए’ मा रहेको भारतले यस जितसँगै सेमिफाइनलमा पुगेको छ । भारतले दुई खेलमा छ अङ्क जोडेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले गोलअन्तरले पराजित गरेको थियो ।
त्यसैगरी नेपाल एक खेलअगावै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको थियो । भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४–० ले हराएको थियो ।
समूह ‘ए’ मा रहेको नेपाल र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिए । अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तानविरुद्ध खेल्नेछ ।
कुवेत विजयी
यसैबीच, भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको खेलमा कुवेतले पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
कुवेतको जीतमा मुबारक फानिनीले दुई गोल र सुल्तान इनिजी र इद राशिदीले समान एक/एक गोल गरे । खेलको १०औँँ मिनेटमा इनिजीले गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १७औँ मिनेटमा फानिनीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा फानिनीले व्यक्तिगत दोस्रो गोल गरे भने ९औँ मिनेटमा राशिदीले गोल गरेका थिए ।
जीतसँगै समूह ‘ए’ मा रहेको कुवेतले दुई खेलमा ६ अङ्क जोडेको छ । पहिलो खेलमा कुवेतले नेपाललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । पाकिस्तान भारतसँग पराजित भएको थियो । साफ च्याम्पियनसिपको अर्को खेलमा अहिले नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका छन् । जसमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।













प्रतिक्रिया