
लमजुङ, ८ असार । नेकपा एमालेका केन्द्रीय सचिव एवम् गण्डकी प्रदेशका इञ्चार्ज गोकर्ण विष्टले एमालेभित्र गणेश प्रवृत्ति नभई कुमार प्रवृत्ति कायम गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले लमजुङको नवौँ पूर्ण बैठकलाई आज शनिबार बेसीशहरमा मार्गनिर्देशन गर्दै उनले आफ्नो कार्य क्षेत्रमा नगई नेता भेट्न घरघर पुग्ने र जति पटक भेटे पनि नमस्कार गरी लाभ लिने गणेश प्रवृत्ति देखाउनुभन्दा काम गर्ने कुमार प्रवृत्ति देखाउने बेला आएको बताएका हुन् ।
नेता बिष्टले सबै नेता तथा कार्यकर्ताले आफूले पाएको जिम्मेवारी इमान्दार भएर निभाउनुपर्ने बताउँदै अब चाकडीको आधारमा नभई कामको आधारमा नेता तथा कार्यकर्ताको मूल्याङ्कन हुने बताएका छन् । उनले पार्टी कामलाई सामाजिक सञ्जालमा सीमित गरी सस्तो लोकप्रियता मात्र कमाउने दाउमा नरहन पनि सचेत गराए ।
गण्डकी प्रदेश इञ्चार्ज भएपछि पहिलो पटक लमजुङ आएका बिष्टले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणका लागि एमाले अघि बढिरहेको भन्दै नीति, नेतृत्व र विचार एमालेको जस्तो अब्बल अरु पार्टीको नरहेको दाबी गरे । उनले एमालेले सरकारको नेतृत्व गर्दा सुशासन र समृद्धिको पक्षमा धेरै काम गरेकाले निर्वाचनमा पाँच दलीय गठन्धन हुँदा पनि एमाले जनमतका हिसाबले पहिलो पार्टी बनेको विचार व्यक्त गरे ।
पूर्व मन्त्रीसमेत रहेका बिष्टले वर्तमान सरकारले देश र जनताको पक्षमा सिन्को भाँच्ने काम समेत नगरेकोले एमाले सशक्त प्रतिपक्षमा रहेर आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यका साथ अघि बढेको बताए ।

बैठकलाई एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, केन्द्रीय सदस्य तथा लमजुङ इञ्चार्ज रामशरण बस्नेत, केन्द्रीय सदस्य एवं लमजुङको ८ वटै पालिकाका इञ्चार्ज जमीन्द्रमान घले, केन्द्रीय सदस्य एवं कार्यालय सचिव डाक्टर भीष्म अधिकारी, गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालगायतले मार्ग निर्देशन गरेका थिए ।
बैठकमा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले समग्र प्रतिवेशनसहित बैठकका एजेण्डा प्रस्तुत गरेका थिए भने सञ्चालन सचिव शुभाष पौडेलले गरेका थिए ।
बैठकले यही असार १५ गतेभित्र सदस्यता नवीकरण गरिसक्ने र असार १४ गते जननेता मदन भण्डारीको जन्म जयन्ती मनाउने निर्णय गरेको छ । त्यसैगरी, आगामी वर्षका लागि वार्षिक बजेट निर्माणका लागि उपाध्यक्ष यशोदा रिमालको संयोजकत्वमा, पार्टी सचिवालय सदस्य अर्जुन गुरुङ र कार्यालय सचिव विवश बुढाथोकी सदस्य रहेको कार्यालय गठन गरेको छ ।
यस्तै, अगामी वर्षको कार्ययोजना निर्माणका लागि जिल्ला सचिव शुभाष पौडेलको संयोजकत्वमा उपसचिव जितबहादुर गुरुङ र अखिल नेपाल महिला संघ लमजुङका अध्यक्ष पवित्रा थापा राना सदस्य रहेको कार्यदल गठन गरेको छ ।
बैठकमा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, गण्डकी प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका उपाध्यक्ष यशोदा रिमालसहित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।













प्रतिक्रिया