
काठमाडौं, ९ असार । जिम्बावेमा जारी आईसीसी विश्वकप क्रिकेटको छनोटको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा हुने नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ ।
नेपालले सुपर सिक्सको सम्भावना कायम राख्न नेदरल्यान्ड्स विरुद्धको खेल जित्नैपर्ने हुन्छ । एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक प्रतिस्पर्धा गरेका छन् । जसमा दुवै टोलीले समान एक/एक जित हासिल गरेका छन् ।
जारी छनोट खेलको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । छनोट खेलमा जिम्बावे र वेस्ट इन्डिजले लगातार दोस्रो जित दर्ता गर्दै समान चार अंकसहित सुपर सिक्सको स्थान सुनिश्चित गरिसकेका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपर सिक्सको सम्भावनाबाट बाहिरिएको छ । समूह ‘ए’बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । योसँगै तीन खेलको नेपालको दुई अंक रहेको छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अंक छ । नेपाल अंक तालिकाको चौथो स्थानमा रहेको छ भने नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।
१० टोली सहभागि छनोट खेलको समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । समूह ‘बी’बाट श्रीलंका, स्कटल्याण्ड र ओमान समान चार अंकसहित सुपर सिक्सको स्थान सुनिश्चित गरिसकेको छ ।
छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछ । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछ ।















प्रतिक्रिया