
काठमाडौं, ८ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का लागि नेकपा एमालेको पार्टी स्कुल विभागले सञ्चालन गरेको तीन दिने आवासीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
पार्टीका कार्यबाहक महासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षणमा अनेरास्ववियु केन्द्रीय नेतृत्वका ५५ जना नेताहरू सहभागी थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक महासचिव ज्ञवालीले नैतिकता र सिद्धान्त एउटा आधारमा बाँध्ने बन्धन भएकाले त्यसलाई जीवन र जगतसँग रुपान्तर गर्नुपर्ने बताए ।
प्राप्त जिम्मेवारीलाई नि:स्वार्थ रुपमा पूरा गर्न निर्देशन दिदै उनले नैतिकताको बन्धनमा बाँधिएर कर्तव्य पालना गरिए विद्यार्थी आन्दोलनलाई सही ढंगले अघि बढाउन सकिनाका साथै अखिलको शक्तिलाई अरु कुनै पनि शक्तिले हराउन नसक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अखिलका इञ्चार्ज किशोरविक्रम मल्ल र अध्यक्ष समिक बडालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कार्यबाहक महासचिव ज्ञवालीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवाद र शिक्षा, पूर्वध्यक्ष किशोरविक्रम मल्लले नेपाली विद्यार्थी आन्दोलनको अबको कार्यदिशा तथा लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले पार्टी संगठन र लेखा विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै, आरएस प्याकुरेलले जीवन र संगठन तथा पार्टी जनसंगठनबीचको सम्बन्ध, घनश्याम कोईरालाले अनुशासन र आचरण तथा वाईपी आचार्यले सूचना प्रविधि : ज्ञान उपयोग विषयमा प्रशिक्षण दिएका थिए ।













प्रतिक्रिया