
काठमाडौं, ८ असार । विरामीको उच्च चाप रहने वीर अस्पतालको क्याविन र आईसीयूबाहेक सबै शैय्या (बेड) नि:शुल्क गरिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो ।
निर्णयसँगै अब वीर अस्पतालका ७०० वटा जनरल शैय्या त्यहाँ जाने बिरामीले नि:शुल्क पाउने भएका छन् ।
यसअघि प्रतिशैय्या २०० रुपैयाँ शुल्क लिने गरिएकामा अब भने नि:शुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।
७०० वटा शैय्या नि:शुल्क गरेबापत हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने पनि उनले बताएका छन् ।
त्यस्तै, न्याम्सले अन्य आंगिक अस्पतालहरुसँग समन्वय गरेर त्यहाँको विरामीको चापलाई व्यवस्थापन गर्ने कार्ययोजना पनि बनाएको छ । स्वास्थ्यमा आम नागरिकको सहज पहुँचलाई सुनिश्चित गर्न सरकारले न्याम्समार्फत काम अघि बढाउने तयारी गरेको हो ।













प्रतिक्रिया