
काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् ।
सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनले बताएका छन् ।
आज शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाएका हुन् ।
सभापति लामिछानेले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको र सो प्रकरणलाइर्ए कमजोर पार्दै लगिएको बताएका छन् ।
‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि ? भन्ने कुरा म सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिए । कारण के थियो भने–जुन ढंगले यसको इन्भेष्टिगेशन भइरहेको थियो। त्यहाँ इन्भेष्टिगेशन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरु आए । अनेक कुराहरु आए । तर, त्यस विषयमा छानविन अगाडि बढन सकेन र, अहिले जुन ढंगले छानविन सकिएको त छैन । तर, जुन परिणामहरु आइरहेको छ । त्यसले हाम्रा प्रश्नहरुको उत्तर नै दिन सकेन । त्यसैले यो अगाडि बढने वातावरण देखिएन ।’
सरकार आफू जोगिनका लागि विभिन्न योजना बनाउनमै अलमलिएको टिप्पणी गर्दै उनले भने, ‘सरकार अल्मलियो । सरकार गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो । सरकारमै सहभागी भएका दलहरुले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं । त्यही गठबन्धनभित्र भएको ठूलो दलको नेता देशमै नभएको बेलामा सरकारभित्रै सहभागी दलहरु मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरु ओझेलमा पर्नु यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिएँ ।’













प्रतिक्रिया