
काठमाडौं, ८ असार । सांसदहरुले मनसुनसँगै बाढीपहिरोको प्रकोप बढ्दै गएको अवस्थामा पूर्वतयारी गर्न र बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै सांसद रामहरि खतिवडाले सडक निर्माणका नाममा जथाभावी सडक खन्ने कामले पहिरोको जाने क्रम बढ्दै गएको भन्दै सरकारले नियन्त्रण गर्नुपर्ने बताए । उनले ओखलढुंगामा गएराति गएको पहिरोका कारण केहीको ज्यान गएको र केही वेपत्ता भएको भन्दै तत्काल राहत उद्धार र पुनर्स्थापनामा ध्यान दिन आग्रह गरे ।
त्यस्तै, सांसद हितराज पाण्डेले गोरखामा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको र १२ जना घाइते भएको भन्दै दुर्घटना हरेक दिन हुन थालेकाले दुर्घटना रोक्नका लागि सरकारको ध्यान जानुपर्ने बताए । उनले पहाडी जिल्लाहरुमा धेरै यात्रुहरु गाडीमा रहेका कारण पनि दुर्घटना हुने गरेकाले सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
यसैगरी, सांसद राजेन्द्र बजगाईले क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने गरेको भन्दै सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
त्यस्तै, सांसद देवेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको विषयमा यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने र उनीहरुको माग सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।













प्रतिक्रिया