
काठमाडौं, ७ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न क्षेत्रका चर्चित अनुहारहरूलाई पार्टीमा प्रवेश गराउने क्रम जारी नै छ । जसले गर्दा रास्वपाको चर्चा झनै चुलिएको छ ।
यसैबीच चर्चित बैंकर अनिल केशरी शाह पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार औपचारिक रूपमा रास्वपा प्रवेश गरेका हुन् । शाह सेलिब्रेटी बैंकर हुन् । उनले नबिल बैंक र मेगा बैंकको सिइओको जिम्मेवारी पूरा गरिसकेका छन् ।
यसैबीच रास्वपा प्रवेश गर्ने विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पनि चर्चा भइरहेको छ ।
बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले बालेन र हर्कलाई पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन् ।
स्वतन्त्र बालेन साह र हर्क साम्पाङलाई २०८४ को निर्वाचनमा स्वतन्त्र पार्टीले समावेश गर्न सक्ला कि नसक्ला ? भन्ने पत्रकारको प्रश्नमा रविले भने, यो त राम्रो हुन्थ्यो त्यस्तो साथीहरूलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । त्यो त हाम्रो चाहना छँदैछ । चाहनाअनुरूप साथीहरूले पनि त्यसैअनुरूप सोचिदिनुभयो भने हामी एकसय प्रतिशत सकारात्मक छँदैछौँ,’ ।
लामिछानको प्रतिक्रियासँगै बालेन र हर्कले चाहेमा जुन सुकै बेला पनि रास्वपामा उनीहरूलाई ढोका खुला रहेको छ । जसले गर्दा बालेन र हर्क पनि रास्वपामा प्रवेश गर्न सक्ने आँकलन हुन थालेको छ ।
रविले सम्बन्धका हिसाबले पनि बालेन र हर्कसँग आफूहरूको एकदम सौहार्दपूर्ण सम्बन्ध रहेको बताए । बालेन र हर्कको कामको हिसाबले आफूले निरन्तर प्रशंसा गरिरहेको उनको भनाइ छ ।
बालेनले आफ्नै पार्टी खोल्ने हल्लाबारेमा भने रविले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । यसअघि स्वर्णिम वाग्ले, रमेश खरेल लगायतका चर्चित अनुहार रास्वपामा प्रवेश गरिसकेका छन् ।















प्रतिक्रिया