३ कार्तिक २०८३, मंगलबार

एमालेको अध्यक्ष बन्ने दौडमा नलाग्ने विद्यादेवी भण्डारीको उदघोष

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गणेश पाण्डे / दैनिक नेपाल

काठमाडौं, १ असार । नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले अब आफू एमालेको राजनीतिमा नफर्कने बताउनुभएको छ ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि आज पहिलोपटक प्रेस चौतारी नेपालका पदाधिकारीसँग बुढानिलकण्ठस्थित निजी निवासमा कुराकानी गर्दै उहाँले एमालेको राजनीतिमा नफर्कने उद्घोष गर्नुभएको हो । एमालेले ७० बर्षे उमेर हद हटाएको र भण्डारी फेरि एमालेको राजनीतिमा फर्किने चर्चा कार्यकर्ता पंक्तिमा चलिरहेको बेला उहाँको यो धारणा आएको हो । राष्ट्रपतिबाट बिदाई हुने क्रममा सरकारी आवास लगायतका सुविधा नलिएका कारण उहाँ भविष्यमा एमालेको अध्यक्ष बन्ने गरी पार्टी काममा फर्कने अड्कलबाजीहरु भइरहेका थिए ।

‘मलाई मैले चिनेको छु, नजिकबाट चिन्नेले चिनेका छन्, नचाहेर पनि कतिपय जिम्मेवारी पूरा गर्नुपर्छ । म एमालेको अध्यक्ष हुँदा कम्युनिष्ट पार्टीको प्रथम महिला अध्यक्ष भन्ने पनि हुन्छ । लिगेसी पनि छ । तर, अब एमालेमा प्रतिस्पर्धी भएर बस्न मन छैन्,’ पार्टीकी पूर्व उपाध्यक्ष समेत रहनुभएकी भण्डारीले भन्नुभयो – ‘पार्टी राम्रोसँग चलोस्, शुभकामना ! मलाई अध्यक्ष बन्ने महत्वाकांक्षा छैन् । लालायित पनि छैन् । तर, टुलुटुलु हेरेर बस्ने कि नबस्ने भन्ने चाँहि छ । म नजिकबाट हेरिरहन्छु ।’

पूर्वराष्ट्रपति भण्डारीले उहाँले देशको वर्तमान अबस्थाप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । युवा पलायन, बेरोजगारी, आर्थिक संकट, कृषि क्षेत्रको विकास नहुँदा आयात बढिरहेको र बजेट घाटा बजेट बढिरहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रियता कमजोर भएकोमा पनि चिन्ता व्यक्त गर्नुभयो । ‘यो देशमा धेरै षडयन्त्रहरु भइरहन्छन् । चन्द्र सूर्य रहेसम्म नेपालको मौलिक पहिचान जोगाउनुपर्छ । हामी सबै मिलेर हाम्रो राष्ट्रियता जोगाउनुपर्छ’– उहाँले भन्नुभयो ।

आफूले गरेको काम निष्ठापूर्वक गर्नुपर्ने बताउँदै उहाँले जननेता मदन भण्डारीको योगदानको प्रशंसा गर्नुभयो । भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएको तीन बर्षमा मदन भण्डारीले देश र कम्युनिष्ट आन्दोलनमा धेरै योगदान गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

उहाँले वर्तमान राष्ट्रपतिबाट जारी नागरिकता विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । नागरिकता कानुन विवादमा पार्नु ठीक नभएको बताउँदै उहाँले नयाँ संसद आएपछि पास गरोस् भनेर आफूले त्यतिबेला फिर्ता गरेको स्मरण गर्नुभयो । तर, अहिले राष्ट्रपतिले संविधानविपरीत विधेयक जारी गरेर राष्ट्रप्रेमी जनताको भावना विपरीत काम गरेको उहाँले बताउनुभयो । ‘नागरिकता विधेयक जारी गरिनु ठीक होइन्, होइन् ।’– पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।