१६ कार्तिक २०८३, सोमबार

एमालेको पुनर्निर्माण अभियान जारी, २ सयभन्दा बढी घर निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml (1)

काठमाडौं, १३ जेठ । नेकपा एमालेको राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत बुधबार तेस्रो दिनसम्म भूकम्प प्रभावित जिल्लामा २ सयभन्दा बढी घरटहरा निर्माण गरिएका छन् ।

अभियान अन्तर्गत एमालेका स्वयंसेवकहरुले उपत्यकाका १५ निर्वाचन क्षेत्र तथा सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लामा मात्रै तीन दिनमा २ सयभन्दा बढी अस्थायी घर निर्माण गरेका हुन् ।

एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले दिएको जानकारी अनुसार केन्द्रीकृत रुपमा १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा खटिएका स्वयंसेवकहरुले पीडित जनसमुदायका घर भत्काएर सफाई गर्ने, बाटो सफाई गरी खुला गर्ने, मन्दिर, देवल र पाटीहरुको सरसफाइ गर्ने, सरकारी विद्यालयहरुको भग्नावशेष हटाई अस्थायी संरचना निर्माण गरेर कक्षा सञ्चालनयोग्य बनाउने र नयाँ अस्थायी घर निर्माण गर्ने कार्यलाई तीब्रता दिइरहेका छन् ।

अभियान अन्तर्गत काठमाडौंको बालाजु, झोर, गोंगबु, बाफल, सिन्धुपाल्चोकको सिपापोखरी, ललितपुरको चापागाउँ नगरपालिकाअन्तर्गत डाँडागाउँ र बोहरा गाउँ तथा लामाटार, गोदामचौर आदि गाउँ, भक्तपुरको महामञ्जुश्री नगरपालिका र धादिङको थाक्रे गाविसमा अस्थायी घर बनाउने कार्यले तीव्रता पाएको छ ।

अभियानका क्रममा भूकम्पमा परी ज्यान गुमाउने मृतक परिवारका घरपरिवारहरुलाई केन्द्रित गरी अस्थायी बसोबास निर्माण गर्न केन्द्रित हुने, दलित, विपन्न, एकल महिला र अपाङ्गता भएका परिवारलाई आधारित गरी सम्पूर्ण शक्ति परिचालित गरेर अस्थायी बसोबास मिलाउने कार्यहरु पनि भइरहेको उपप्रमुख थापाले जानकारी दिनुभयो ।

एमालेका स्वयंसेवकहरुले तेस्रो दिन काठमाडौंको झोर, दोलखाको मैनापोखरी, काब्रे र बाबरे, सिन्धुपाल्चोकको कर्थली, सिखरपुर, तारामराङ र महाकांल गाविस, नुवाकोटको गणेशस्थान, बेलकोट र मदनपुर, धादिङको सल्यानटार र आरुघाट, रसुवाको भोर्लेटार लामाचेप, रामेछापको मन्थली (पुरानो चिसापानी) आदि स्थानमा २५ वटाभन्दा बढी सरकारी विद्यालयहरुको भग्नावशेष हटाउने, भत्किएका सामग्रीहरु पन्छाउने काम पनि गरेका छन् ।

यसैक्रममा नुवाकोटको गणेशस्थान–१ स्थित जाल्पा युवा प्राविको चारकोठे स्कूल भवन निर्माण गर्नुका साथै अर्को एउटा भवनको मर्मत सम्भार गरेर व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । उक्त निर्माण कार्यको जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले निरीक्षण समेत गर्नुभएको छ ।

चालू अभियानका क्रममा जम्मा २५० भन्दा बढी भत्किएका निजी घरहरु सरसफाइ गरी महत्वपूर्ण सामग्री र धनदौलत निकाली सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको छ । विभिन्न ठाउँमा चारवटा मन्दिर र ९ वटा बाटोको सरसफाइ गरिएको छ भने पाँचवटा उद्धारका कामसमेत गरिएको एमालेले जनाएको छ ।

अभियानका संयोजक पार्टी सचिव तथा मोर्चा संगठनका प्रमुख गोकर्ण विष्टले पुनर्निर्माण अभियान अन्तर्गत बढीभन्दा बढी अस्थायी घर र टहरा निर्माण गरी वर्षात् अघि नै पीडित जनसमुदायलाई ओतको व्यवस्था गर्ने काममा सबै स्वयंसेवकहरु केन्द्रित हुनुपर्ने तथा नवनिर्माणको सन्देश प्रवाहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अत्यन्तै धरापका रुपमा रहेका जोखिमपूर्ण संरचना तथा महत्वपूर्ण सामग्री पुरिएर रहेका घरहरुको सफाइबाहेक आमरुपमा नयाँ संरचना निर्माण र ओतको व्यवस्था गर्न नै सबै सामथ्र्यका साथ जुट्न आह्वान गर्दै निजी बोर्डिङ स्कूलभन्दा सरकारी स्कूल र सामथ्र्य राख्नेभन्दा कमजोर स्थिति एवं विपन्न हैसियतका परिवारलाई बसोबास मिलाउनसमेत जारी अभियानलाई केन्द्रित गर्न उहाँले आह्वान गर्नुभयो ।