
काठमाडौं, १ असार । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चा घोषणालाई छिट्टै अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको समाजवादी पार्टीको बैठकले आवश्यक तयारी पूरा गर्दै समाजवादी मोर्चा घोषणालाई छिट्टै अगाडि बढाउने निर्णय गरेको हो ।
मोर्चामा रहने दलहरुको आन्तरिक तयारी नपुगेका कारण शुक्रबार घोषणा हुने भनिएको समाजवादी मोर्चा केही दिनभित्रै घोषणा हुने नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एक वर्षअघिदेखि नै मोर्चा गठनका लागि पहल गर्दै आइरहेको भन्दै उनले मोर्चाको सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा बैठकमा चर्चा गरिएको बताएका छन् । मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने दलहरुबीच सैद्धान्तिक सहमति भएको, लेफ्ट फ्रन्ट बनाउन सहयोगी हुने धारणा उनको छ ।
समाजवादी मोर्चा गठनका लागि माओवादी, नेकपा एस, जसपाले पहिल्यै निर्णय गरे पनि विप्लवको नेकपा पनि छलफलमा रहेको छ ।
यता नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाबारे बाहिर चलेका हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीसँगको भेटमा उपलब्धिहरूको रक्षा गर्दै समाजलाई अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेको बताएका छन् ।













प्रतिक्रिया