२८ आश्विन २०८३, बुधबार

सबै सवारीसाधनहरू नयाँ बसपार्कबाट छुटाउनुमा यस्तो छ बालेनको तजबिज

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाले भोलि असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्‍याउनुपर्ने महानगरको निर्देशन छ ।

महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान भनेको छ । काठमाडौं महानगरले गत जेठ १९ गते सार्वजनिक सूचना प्रकाशन गर्दै आगामी असार १ गतेदेखि उक्त निर्णय अनिर्वाय रूपमा लागू गर्न भनेको थियो ।

यस अनुसार अब तपाइँले काठमाडौँभित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यकाबाहिर जाँदै हुनुहुन्छ भने गोँगबुस्थित नयाँबसपार्क पुग्नैपर्ने हुन्छ ।

महानगरको यो व्यवस्थासँगै अब काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा ‘काउण्टर’ राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुनेछन् । उक्त निर्णय कार्यान्वयनसँगै अब काठमाडौँभित्रबाट उपत्यकाबाहिर चल्ने झण्डै दुई हजार सार्वजनिक माइक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन्छन् । रातको समयमा जुन ठाउँमा पार्किङ गरे पनि यात्रु चढाउनका लागि नयाँ बसपार्कभित्र पुग्नुपर्ने हुन्छ ।

नयाँबसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणको कामलाई समेत तीव्रता दिएको छ ।

लोत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जीप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माण गर्ने काम भइरहेको बताए । नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको उनको भनाइ छ ।

बालेनको तजबिजमाथि के भन्छन् व्यवसायीहरू ?

यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरूले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै विरोध जनाउँदै आएका छन् । त्यतिमात्र होइन, ल्होत्सेको स्वार्थ पूर्तिका लागि महानगरले नयाँ बसपार्कबाट मात्रै यातायात सञ्चालन गर्न निर्देशन दिएको आरोप उनीहरूको छ । महानगरको उक्त निर्णय अव्यावहारिक भएको भन्दै सच्याउनसमेत व्यवसायीहरूले माग गरेका छन् ।

यातायात व्यवसायी र विभिन्न संगठनहरूले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरूको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका हुन् । महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरूको चेतावनी छ । महानगरले निर्णयमा पुनरावलोकन गर्नुको विकल्प नरहेको यातायात व्यवसायीहरूको भनाइ छ ।

‘महानगरका मेयर बालेन्द्र साहले निर्णय सच्याउँछन् या सच्याउँदैनन्, त्यो महानगरको विषय हो तर निर्णय कार्यान्वयन गर्न भने त्यति सजिलो छैन । यदि आफ्नो अडानबाट महानगर तलमाथि नहुने हो भने सेलिब्रेटी मेयर बालेन्द्र शाहको लोकप्रियता ओरालो लाग्ने कार्यको सुरुवात यही निर्णयले तय गरिदिने अनुमान आम ब्यवसायी मजदुर र उपभोक्ताको छ,’ काठमाडौ पूर्व यातायात सञ्चालन संघर्ष समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महानगरको निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरूको अहितमा रहेको उनीहरूको ठहर छ ।

पूर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष केदार क्षेत्रीले यातायात क्षेत्र व्यवस्थापनमा कमजोरी रहे पनि अहिले नै यो निर्णय कार्यान्वयनका लागि चुनौती रहेको बताए । महानगरले परिवर्तनको नाममा सुनियोजित रूपमा यातायात व्यवसायी र यात्रुलाई मर्का पर्नेगरी निर्णय गरेको आरोप लगाए ।

‘परिवर्तनको नाममा नियोजित व्यवस्थापन गरिएको छ । गम्भीरतापूर्वक अध्ययन गरेर यो निर्णय लागू गर्न आवश्यक छ । सार्वजनि यातायातको नेपालकै व्यवस्थापन अत्यन्तै गएगुज्रेको छ । यसमा दुईमत छैन । तर, लाठी र बुट तेस्र्याएर हुँदैन । सम्बन्धित व्यक्ति, पेशा व्यवसायकर्मी र यात्रुसमेतको हितलाई मध्यनजर गरेर कार्यक्रम बनाउन आवश्यक छ,’ उनले भने ।

त्यसैगरी, नेपाल यातायात मजदुर संगठनका केन्द्रीय महासचिव जगन्नाथ गौतमले राज्यको लगानीबाट चल्नुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर सरकारलाई सहयोग गर्दा पनि यातायात व्यवसायीविरुद्ध महानगरले क्रुर निर्णय लादेको आरोप लगाए । महानगरपालिका र नेपाल सरकारले बनाएको मापदण्डमा रहेर काउन्टर खोलेर टिकट काट्न र यातायात निर्वाध रूपमा सञ्चालन गर्न पाउनुपर्ने उनको माग छ ।

महानगरको टोलीसँग भएको वार्ताको जानकारी गराउँदै उनले भने, ‘हिजो (काठमाडौं महानगरसँगको वार्तामा) जोडदार माग उठेको छ । अहिले पहिला भन्दा केही लचक भएर व्यवहारिक पक्ष पनि हेर्नुपर्छ भन्ने आएको छ । यातायात क्षेत्रमा काम र लगानी गर्नेहरूलाई सम्मान दिलाउन र रोजगारी र लगानीको सुरक्षाका लागि माग उठाएका छौं । समिति बनाउने र मेयरसाब सम्म गुनासो पुर्‍याउँछौं भन्नुभएको छ ।’

दिवा तथा रात्रि सेवा यातायात संघर्ष समितिका अध्यक्ष श्रीप्रसाद शिवाकोटीले महानगरले नर्कको त्रास देखाएर स्वर्गको टिकट बेच्ने केही व्यापारीले स्वार्थको आधारमा यातायात व्यवसायीलाई कैदी बनाएको आरोप लगाए ।

अहिलेको बसपार्क क्षमताहिन रहेको उनको दाबी छ । नेपालमा यातायात क्षेत्रमात्रै अव्यवस्थित नभएर अन्य क्षेत्र पनि भद्रगोल रहेको उनको दाबी छ । बालेन शाहको हतारको निर्णयले यातायात व्यवसायीहरूको रोजिरोटी खोसिने अवस्था आइपुगेको उनको दाबी छ । काठमाडौं महानगरपालिको उक्त निर्णयमा पुनर्विचार गर्न आवश्यक रहेको उनले बताए ।

यसैगरी, गौशला संघर्ष समितिका अध्यक्ष रविन कार्कीले बसपार्कभित्र रहेको लोत्से भन्ने संस्थाको दादागिरीका कारण यातायात मजदुर र व्यवसायी सुरक्षित हुनसक्ने बताए । साथै उक्त बसपार्कमा सबै बसहरू अटाउने क्षमतासमेत नभएको उनको दाबी छ ।

‘बसपार्कभित्र लोत्से भन्ने संस्थाको दादागिरी, त्यहाँभित्र हाम्रा व्यवसायीमाथि लुटतन्त्र र हाम्रा मजदुरहरूको जिउ धनको सूरक्षा नभएर हामी त्यहाँ नगएका हौं । महानगरले असार १ गतेदेखि सबै गाडी बसपार्क जानपर्छ भनेको छ । त्यहाँ क्षमता छैन,’ उनले भने ।

व्यवस्थापनको आवरणमा लोत्सेले संकलन गर्ने पार्किङ शूल्क र काउण्टर भाडा महँगो रहेको यातायात व्यवसायीहरूको गुनासो रहेको छ । एउटा कम्पनीको स्वार्थसँग महानगरले यस्तो गम्भीर निर्णय गरेको उनीहरूको आरोप छ ।

महानगरको उक्त निर्णयले विभिन्न प्रालिद्वारा चक्रपथ आसपासमा सञ्चालनमा रहेका चार सय टिकट काउण्टर र त्यहाँ काम गर्ने करिब तीन हजार पाँच सय श्रमिकहरूको रोजीरोटी खोसिने यातायात व्यवसायीहरूको भनाइ छ ।

महानगरले कानुनअनुसार दर्ता भएका यातायात कम्पनीहरूले मात्रै काउण्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउण्टर, एक काउण्टर एक टिकट नीति बनाउने, श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोशाक लगाएर मात्रै काउण्टरमा काम गर्ने, काउण्टरमा आफ्ना बस पुग्ने गन्तब्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरूले देख्ने गरी भाडा दररेटको सूची राख्ने, संख्या किटान गरेर काउण्टर नम्बर लेख्ने, बस छुट्ने समय यात्रु आइपुग्नु पर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई सहजीकरण गर्ने, अशक्त, असहाय, अपाङ्गता भएका, जेष्ठ नागरिक, बालबालिका र महिलामैत्री हुने, यात्रुहरूको गुनासा तथा सुझावका लागि काउण्टरमा सुझावपेटिका राख्नुपर्नेजस्ता निर्देशन समेत दिएको छ ।

यातायात व्यवसायीहरू आफ्नो कमिकमजोरी सुधारका लागि तयार हुनुपर्ने उनीहरूले बताए । साथै, नयाँ बसपार्कबाट मात्रै यात्रु चढाउने, ओराल्ने महानगरको निर्णय अव्यावहारिक रहेको उनीहरूको भनाइ छ ।