काठमाडौं, २० जेठ । फोरम नेपालबाट अलग भएका नेता भरतविमल यादवलगायतले नयाँ शक्ति बनाउने भएका छन् । तर त्यसको स्वरूप र आकारबारे उनले खुलाएनन् । ‘नयाँ शक्ति बनाउने तयारीमा छ’ उनले सोमबार भने, ‘साथीहरूसँग सल्लाह भइरहेको छ ।’
फोरम अध्यक्ष उपेन्द्र यादवले जेठ पहिलो साता पुनर्गठन गरेको कार्यसमितिमा नसमेटिएपछि भरतविमलले गत साता पार्टी परित्याग गरेका थिए । भरतविमल फोरमका वरिष्ठ नेता थिए ।
फोरम नेपालमै केन्द्रीय समितिमा नसमेटिएकालाई समेटेर लैजाने उनको भनाइ छ । विभिन्न मधेसी पार्टीमा असन्तुष्ट रहेका युवा र अन्य समुदायका व्यक्तिलाई पनि समेटेर अलग्गै शक्ति बनाउने उनले बताए । ‘कस्तो शक्ति बनाउने र कोको रहने भन्नेबारे छलफलमै छु,’ उनले भने ।
फोरम अध्यक्ष यादवले अर्जुन थापा, असरार अहमद खान, विनीता यादव, अमरेशनारायण झा, विष्णु चौधरी र भीम राजवंशी लगायतलाई केन्द्रीय सदस्यबाट हटाएका थिए । भरतविमलले पार्टी परित्याग गरे पनि केन्द्रीय समितिमा नसमेटिएका अरूले छाडेका छैनन् । ‘हामीहरू पर्ख र हेरको अवस्थामा छौं,’ असन्तुष्टमध्येका थापाले भने । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया