
भक्तपुर, २७ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णयले लोकतन्त्र कमजोर बनाएको बताएका छन् ।
आज शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोईरालाले सरकारले आफ्नो सत्ता टिकाउन र लोकतन्त्र कमजोर पार्न चौधरीलाई माफी दिने सिफारिस गरेको बताएका हुन् ।
सरकारले आममाफीको सिफारिस गरे पनि राष्ट्रपतिले त्यसलाई रोकेको भए सबैको हितमा हुने उनको भनाइ छ । ‘जिल्ला, उच्च र सर्वोच्च अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिने कुराले अन्तत: लोकतन्त्रलाई नै कमजोर बनाउँछ, राष्ट्रपतिले यसलाई रोक्नु पथ्र्यो, दण्डहीनतालाई प्रश्रय दिने गरी भएका यस्ता निर्णयलाई जनताले नियालिरहेका छन्,’ उनले भने ।
जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि उनले आपत्ति जनाएका छन् । ‘अहिले निर्वाचन आयोगलाई हामीले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनुपर्छ भनेर भनिराखेका छौँ । तर सरकारले निर्वाचन आयोगलाई सिडिओको मातहतमा लगेर एउटा कोठामा थन्क्याएर राख्न खोज्दैछ, त्यसले लोकतन्त्र बलियो हुन सक्दैन, लोकतन्त्र बलियो हुन निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ,’ नेता कोइरालाले भने ।
कांग्रेस सत्ता पक्ष भएकाले बजेटमा रहेका कमजोरीलाई संसद्मा उठाउन नसकेको उल्लेख गर्दै नेता कोइरालाले भने, ‘संसद्मा बजेटबारे विरोध गर्न सत्तापक्ष भएकाले सकिएन, तर बजेटमा गलत गरेका छौँ भनेर मनन गर्ने बेला आएको छ, बजार भाउ अचाक्ली बढिसक्यो, जनतालाई मार पर्ने कार्य गर्नु हँुदैन ।’
मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलले बहुमत आउन नसक्ने अवस्था आएकाले संविधान संशोधन गरेर जानुपर्ने र समानुपातिक प्रणालीको व्यवस्थालाई परिमार्जन गर्न नसके देश सङ्कटमा पर्ने उनको भनाइ छ । नेताहरुले पूर्वराजाले केही बोल्यो कि गणतन्त्र जान्छ, सिद्धिन्छ भनेर बोल्नु कमजोर मानसिकताको उपज भएको टिप्पणी गर्दै नेता कोइरालाले पूर्वराजाले बोल्ने बित्तिकै गणतन्त्र गयो, समाप्त हुन थाल्यो भनेर बुझ्न गलत भएको र त्यसरी गणतन्त्रको समाप्त पनि नहुने बताएका छन् ।













प्रतिक्रिया