
काठमाडौं, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका छन् ।
आज शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्रीले केही पनि बोल्न नसकेको, नेपालका नदीहरु भारतलाई सित्तैमा सुम्पेर आएको भन्दै राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका हुन् ।
उनले एमालेको सरकार परिवर्तन भए पनि दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको जिकिर गरे । सरकारसँग विकासको कुनै योजना र स्रोत पनि नरहेको भन्दै ओलीले सरकार र सरकारमा रहेका दलहरु एमालेको बिरोधमा मात्रै लागेको उल्लेख गरे ।
उनले आफु नेतृत्वको सरकार ढाल्ने, पार्टी फुटाउनेलगायतका अनेक षडयन्त्र भए पनि एमाले जस्ताको तस्तै रहेको र आगामी निर्वाचनमा एमालेले देशका लागि बहुमत ल्याउने गरी तयारी गर्ने बताएका छन् । त्यस्तै, अध्यक्ष ओलीले पुराना योगदान, त्याग र बलिदानका विरुद्ध अभियान सञ्चालन गर्न खोजिएको भन्दै इतिहासलाई सम्मान गर्न जान्नुपर्ने बताए ।
उनले मुलुकमा ठूला–ठूला परिवर्तन ल्याए पनि युवाहरुलाई परिवर्तनका बारेमा बुझाउनुपर्ने बताए । ओलीले जनताका काममा समर्पित हुनका लागि कार्ययोजनासहित अघि बढ्न कर्मचारी संगठनलाई निर्देशन दिएका छन् ।













प्रतिक्रिया