
काठमाडौं, ११ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ । २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, , सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका १४ जना फरार छन् । नक्कली भुटानी शरणार्थीको विषयमा प्रहरीको ६० दिने अनुसन्धान पूरा भएपछि सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अभियोजन दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोजनअनुसार उनीहरूविरुद्ध ठगी, संगठित अपराध, किर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।
ठगी अपराधमा बिगो, ७० हजार रूपैयाँसम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय हुन्छ । यस्तै संगठित अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुन्छ । एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसुरको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुरवापतको सजायको आधा थप गरेर सजाय गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले पनि सरकारी वकिलको कार्यालयले एकीकृत सजायको व्यवस्था माग गरेको छ । त्यस्तै राष्ट्रहित प्रतिकूल कार्य गर्न नहुने कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन्छ । किर्ते गर्न नहुने कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सार्वजनिक ओहोदामा बसेर गरेको अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुने कानुनी व्यवस्था छ ।
तर यी कानुन आकर्षित हुनगरी प्रहरीले प्रमाणहरू जुटाउन सकेको छैन । अभियोजनपत्रमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य योजनाकारको रूपमा प्रस्तुत गरिएको छ । रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोड रूपैयाँ लिएको खुलेको अभियोजनपत्रमा उल्लेख छ । उनले प्रतिवादी सानु भण्डारीबाट १ करोड ६० लाख र छोराको खातामा थप ४० लाख पठाउन लगाएर कुल २ करोड रूपैयाँ बुझेको खुलेको दाबी अभियोजनपत्रमा गरिएको छ । रायमाझीले बयानका क्रममा भण्डारी र केशवप्रसाद दुलालले टेकनाथ रिजाललाई आफ्नो घरमा भेट गराउन ल्याएको बताएको अभियोगपत्रमा उल्लेख छ । यस्तै नेपालीलाई भुटानी शरणार्थी बनाउने योजनाअनुसार सन्देश शर्मा, भण्डारी, दुलालसँग रायमाझीले ललितपुरस्थित एक रेस्टुरेन्टमा मिटिङ गरेको भन्दै उनी मुख्य योजनाकार भएको दाबी गरिएको छ ।
‘प्रतिवादी टोपबहादुर रायमाझी अन्य प्रतिवादीहरू इन्द्रजित राई, सानु भण्डारी, केशवप्रसाद दुलाल, सन्दीप रायमाझी र टेकनाथ रिजालसँग प्रत्यक्ष रूपमा मिलेर सुरुवातदेखि नै कसुर अपराधको योजनाकारको रूपमा अन्य प्रतिवादीहरूलाई परिचालन गर्ने र आफूसमेत परिचालित भई प्रस्तुत संगठित ठगी एवं राष्ट्रहित प्रतिकूल काम गर्न नहुने अपराधमा सक्रिय भूमिका निर्वाह गरी आपराधिक समूहका अन्य प्रतिवादीहरूलाई परिचालन गरी जाहेरवालाहरू समेतबाट संकलन गरिएको ठगीको लिनेखाने काममा संलग्न रहेको देखिँदा यी प्रतिवादी टोपबहादुर रायमाझीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाइ करौडौं रकम उठाउन लगाइ पीडितहरूलाई हानिनोक्सानी पु¥याइ ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता,२०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुर गरेको पुष्टि हुन आयो’, काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा रायमाझीको हकमा लेखिएको छ ।
यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी बनाउने प्रकरणबाट पैसा उठाउँदै घर जग्गामा लगानी गरेको, त्यही पैसा पचाउन उनले रायमाझीलाई प्रभावमा पारेको दाबी अभियोगपत्रमा गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयको अभियोगपत्रअनुसार राईले करिब साढे चार करोड रूपैयाँ असुलेर घरजग्गामा लगानी गरेका थिए ।
‘भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको गठन चरणबाटै सक्रिय रहेका प्रतिवादी डा. इन्द्रजित राई र प्रतिवादी सानु भण्डारी तथा प्रतिवादी केशवप्रसाद दुलालबीच पूर्वचिनजान रहेको, प्रतिवादी सानु भण्डारीले सिफारिस गरेका व्यक्ति गणेशबहादुर केसीलाई निजको विषयविज्ञता बिनै कार्यदलमा विज्ञ सदस्यका रूपमा मनोनित गराउन सफल भएको र सो कुराको जानकारी गणेशबहादुर केसीलाई फोन गरेर जानकारी गराएबाट यी प्रतिवादी र सानु भण्डारीको मिलेमतोबाट आफूअनुकूल काम गर्ने मानिसहरूलाई कार्यदलको सदस्य चयन गरे गराएको देखिएको; केशवप्रसाद दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझी र टेकनाथ रिजालसमेत भेटघाटको मेसो मिलाइ नेपालीसमेतलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्ने विश्वास गर्न सकिने खालको योजना बनाइ सोही योजनाअनुसार कार्यदल बनाउन सहजीकरण गरेको; प्रतिवादी सानु भण्डारीको सल्लाहअनुसार आरसियोको रूपमा काम गर्ने आफ्नो आपराधिक योजना अनुकूलको कर्मचारी चयन गरी सरुवासमेत गराउने कार्यपश्चात टोकनको रूपमा रकम लिएको प्रतिवादी सानु भण्डारीको घरबाट बरामद डायरीमा उल्लेख छ’, अभियोगपत्रमा लेखिएको छ । रायमाझी उपप्रधान तथा ऊर्जामन्त्री हुँदा सानु भण्डारी, केशवप्रसाद दुलाल, सन्देश शर्मा, इन्द्रजित राईलगायतसँग बाक्लो उठबस, घुमफिर हुने गरेको उनकै बयानबाट खुलेको छ ।
सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा जाहेरवाला र पक्राउ परेकाहरूको बयान, केही अपुष्ट एसएमएस, मोबाइल, डायरी र जाहेरवाला तथा गृह मन्त्रमालयका कर्मचारीलाई प्रमाणका रूपमा राखेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको हकमा पनि प्रमाण कमजोर रहेको छ । सचिव टेकनारायण पाण्डेले मोबाइलमा पठाएको ४४ वटा स्क्रिन सटलाई पनि प्रमाणको रूपमा राखिएको छ । इन्द्रजित राईको हकमा उनलाई पैसा बैंकमा बुझाएको रकमको भौचरलाई आधार बनाइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया