१ कार्तिक २०८३, शनिबार

दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ८ जेठ । बागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

हेटौंडा—५ पिप्ले क्याम्पा रंगशालामा हजारौँको संख्यामा प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सो प्रतियोगिताको समुद्घाटन गरे । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको खेलकुद प्रतियोगितामा १३ विधाका खेलहरु हुने जनाइएको छ ।

कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुको सहभागिता रहेको थियो । मुख्यमन्त्री जम्कट्टेलले ओलम्पियन खेलाडीहरुलाई ओलम्पियसन टर्च बालेर हस्तान्तरण गरेका थिए । कार्यक्रममा चर्चित गायिका रचना रिमाल, बालगायक जेनिस उप्रेतीलगायत कलाकारहरुको सांगीतिक प्रस्तुतिसमेत दिएका थिए ।

प्रतियोगिताको उसु, जुडो खेल काठमाडौंमा हुनेछ भने पौडी खेल ललितपुरमा र क्रिकेट खेल चितवनमा हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए । प्रतियोगिताको अन्य खेलहरु फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो प्रतियोगिता हेटौंडाका विभिन्न खेलमैदानमा हुने भण्डारीले बताए ।

प्रतियोगितामा विभिन्न विधाका एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडीहरुको सहभागिता रहनेछन् भने एक सय ७३ जना प्रशिक्षक एक सय ४२ जना व्यवस्थापक, दुई सय ७६ जना निर्णायकको सहभागिता रहेको छ ।

सम्पूर्ण खेल आयोजना गर्न करिब रु नौ करोड ४२ लाख खर्च हुने अनुमान रहेको परिषद्का सदस्यसचिव भण्डारीले बताए ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, ओलम्पियन खेलाडी, प्रजिअ, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती थियो ।