३ कार्तिक २०८३, मंगलबार

केपी ओलीलाई प्रधानमन्त्री बनाउन एमाओवादी तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-with-prachanda

काठमाडौं, १२ जेठ । राष्ट्रिय विपत्तीपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाई राष्ट्रिय सरकार गठनको प्रक्रिया अघि बढेको छ । एमाओवादीले समेत ओलीलाई प्रधानमन्त्री बनाउन आफुहरु तयार रहेको जनाएको छ ।

आगामी जेठमा संविधान जारी गर्ने, कांग्रेसको महाधिवेशनसम्म कोइरालालाई नै प्रधानमन्त्रीमा समर्थन गर्ने बचनवद्धता एमाले नेतृत्वले दिएको थियो । तर मुलुकमा अकल्पनीय विपत्ति आएको र तत्काल राष्ट्रिय सरकारको आवश्यकता रहेको सबै दलले महशुस गरेकाले एमाले नेतृत्वको लागि अघि बढेको हो ।

भूकम्पले ठूलो विनास निम्त्याएसँगै सुरु भएको राष्ट्रिय सहमतिको सरकार निर्माणको चर्चाले मुर्तरुप लिन थालेको छ । विपक्षी दलहरूले समेत त्यस्तो सरकार अनिवार्य रहेको बताइरहेका बेला आइतबार प्रमुख दुई सत्तासिन दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति जुटेको छ ।

दलहरूबीच औपचारिक निर्णय नभइसके पनि स्रोतहरूले त्यस्तो सरकार नेकपा एमालको नेतृत्वमा गठन हुने दाबी गरेका छन् । एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेस सहमत हुने विश्वास एमाले नेताहरुले गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला निकट स्रोतले दिएको जानकारीअनुसार कोइराला सकेसम्म आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रयास गर्ने तर सम्भव नभए एमालेको नेतृत्वमा सरकार बनाउन सहमति दिने मनस्थितिमा पुगेका छन् ।

‘कोइरालाको भित्री चाहना कम्तिमा संविधान आफ्नो नेतृत्वमा जारी होस् भन्ने रहेको छ,’ कोइराला निकट कांग्रेसका एक नेताले दृष्टिसँग भने, ‘त्यसो हुन नसक्ने हो भने एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन कोइरालाको समर्थन रहनेछ ।’ ती नेताका अनुसार कोइराला आफूले प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्थामा कांग्रेसकै अर्काे कुनै नेता प्रधानमन्त्री बनोस् भन्ने चाहिरहेका छैनन् । राष्ट्रिय सरकारको नेतृत्वका लागि कांग्रेसमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको पनि दाबी रहेको छ ।

तर देउवा यसपटक प्रधानमन्त्रीमा भन्दा पार्टी सभापतिमा आफ्नो दाबेदारी बलियो बनाउनतिर लागेका छन् । सहज रुपमा प्रधानमन्त्री बन्ने अवस्था आए मात्र अघि बढ्ने अन्यथा पौडेललाई प्रधानमन्त्रीमा समर्थन गर्दै आगामी महाधिवेशनबाट पार्टी सभापति सुनिश्चित गराउने रणनीतिमा देउवा देखिन्छन् । तर पौडेलले कोइरालाको समर्थन पाउने सम्भावना भने नरहेको उनी निकट नेताहरू बताउँछन् ।

‘पहिलो सम्भावना त कोइरालाकै नेतृत्वमा सरकार बन्ने हो । तर त्यो हुन नसके एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नेदेखिन्छ,’ कोइराला निकट ती नेताले भने । एमालेको नेतृत्वमा सरकार बनाउन प्रमुख प्रतिपक्षी एकीकृत माओवादी र अन्य विपक्षी दलहरूले पनि सहमति जनाउने सम्भावना बढेको छ । यसबीच एमाले र एमाओवादीका नेताहरूबीच बाक्लै कुराकानी चलिरहेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यसबीच एमाओवादी अध्यक्ष प्रचण्डदेखि अन्य दोस्रो तहका थुप्रै नेताहरूसँग एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा छलफल अघि बढाएर वातावरण बनाइरहेका छन् । त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईको पनि छलफल भएको छ । त्यसअघि अघिल्लो हप्ता अध्यक्ष ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि राष्ट्रिय सरकारका बारेमा छलफल चलेको थियो ।

दोस्रो संविधानसभा निर्वाचनको मत परिणामले निक्कै कमजोर अवस्थामा रहेका कारण एमाओवादीसँग सरकारको नेतृत्व गर्ने नैतिक हैसियतसम्म छैन । १२ वैशाख पछिको परिघटनालाई आधार बनाएर उ जतिसक्दो चाँडो सरकारमा जान चाहिरहेकाले उसले पनि छलफललाई बाक्दो बनाएको छ । प्रचण्ड निकट नेताहरूका अनुसार संविधान निर्माणका केही विषयमा अध्यक्ष ओली लचक भइदिने हो भने ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न एमाओवादी तयार देखिएको छ ।

तर एमाले वृत्तमा उक्त प्रस्तावलाई आशंकायुक्त नजरले हेरिएको छ । संविधान निर्माणलाई मुख्य प्राथमिकता दिएर कांग्रेस र एमालेबीच डेढ वर्षअघि देखिको सहकार्य तोड्ने मनसायका साथ एमाओवादीको प्रस्ताव आएको हुनसक्ने भन्दै आशंका गरिएको हो ।

आइतबार कांग्रेस र एमालेका शीर्ष नेताहरू बीच भने आगामी सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा औपचारिक चर्चा हुन सकेन । दुई पार्टीले राष्ट्रिय सरकार गठन गर्ने औपचारिक निर्णय भने गरेका छन् । यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने कोइरालाको अडान रहेका कारण अहिले नेतृत्वका विषयमा चर्चा अघि बढ्न नसकेको हो ।

तर दुई पार्टीका दोस्रो तहका नेताहरूबीच यसबारे प्रशस्त गृहकार्य चलिरहेको छ । अघिल्लो माघमा भएको ८ बुँदे सहमति कार्यान्वयन गर्दै दुई दलबीचको सहकार्यलाई अघि बढाउनुपर्नेमा दुवै दलका दोस्रो नेताहरू सजग देखिएका छन् । त्यसो त एमालेले गत माघ ८ मा संविधान जारी गर्ने गरी कोइरालालाई एक वर्ष सरकार चलाउन समर्थन गरेको भए पनि विशेष परिस्थितिले संविधान आउन नसके पनि कोइरालाको विकल्प खोजी गरेको थिएन । आगामी जेठमा संविधान जारी गर्ने, कांग्रेसको महाधिवेशनसम्म कोइरालालाई नै प्रधानमन्त्रीमा समर्थन गर्ने बचनवद्धता एमाले नेतृत्वले दिएको थियो । तर मुलुकमा अकल्पनीय विपत्ति आएको र तत्काल राष्ट्रिय सरकारको आवश्यकता रहेको सबै दलले महशुस गरेकाले एमाले नेतृत्वको लागि अघि बढेको हो ।

मुलुकको पुनर्निर्माणका लागि पनि एमालेको नेतृत्व अनिवार्य बन्दै गएको छ । सामान्य अवस्थामा समेत सरकार चलाउन कोइराला प्रभावकारी हुन नसकेकाले पुनर्निर्माणको ऐतिहासिक जिम्मेवारी कोइरालाको नेतृत्वमा पूरा हुन नसक्ने ठहर विज्ञहरूले समेत गरिरहेका छन् । सहरी विकासका विज्ञसमेत रहेका एमाओवादी नेता डा. भट्टराईले संसद्को विशेष अधिवेशनलाई सम्बोधन गर्ने क्रममा डाइनामिक क्षमताका नयाँ नेतृत्वलाई सरकारको नेतृत्व सुम्पनुपर्ने बताएका थिए । त्यसक्रममा उनले बहालबाला र पूर्वप्रधानमन्त्रीहरूलाई सरकारको नेतृत्व गर्ने लोभ त्याग्न आग्रहसमेत गरेका थिए । अध्यक्ष ओलीसँग गत साता भएको भेटवार्तामा पनि भट्टराईले सोही स्पिरिटमा आफ्नो धारणा राखेको भट्टराई निकट नेताहरूले बताएका छन् ।

यता मधेसवादी दलका नेताहरू पनि एमालेको नेतृत्वका सरकार बनाउनुपर्ने पक्षमा लविङ गर्न थालेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले त दश दिनभित्रै राष्ट्रिय सरकार गठन हुने बताइसकेका छन् । गच्छदारदेखि सर्वेन्द्रनाथ शुक्ल, महन्थ ठाकुर, हृदयश त्रिपाठी, उपेन्द्र यादव, राजेन्द्र महतो, अनिल झा, महेन्द्र राय यादवलगायतका नेताहरूसँग पनि राष्ट्रिय सहमतिको सरकारका विषयमा छलफल चलेको बताइन्छ ।

उपेन्द्र र राजेन्द्रले सरकारमा सहभागी हुने विषयमा अहिले कुनै प्रतिक्रिया दिएका छैनन् । गच्छदारलगायतका धेरै मधेशवादी नेता पहिलेदेखि नै राष्ट्रिय सरकारको वकालत गरिरहेका थिए । तर, वैशाख १२ गतेदेखि लगातार गएको भूकम्प र त्यसले पारेको जनधनको क्षतिले सहमतिको वातावरण बनाइदिएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।