२८ आश्विन २०८३, बुधबार

कमाउ धन्दामा लाग्दा प्रहरी खोरमा नेता

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता पनि प्रहरी अनुसन्धानमा तानिएपछि मुलुकको राजनीतिक वृत्त थर्थराएको छ । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । खाणलाई उनका निजी सचिव नरेन्द्र केसीसहित काठमाडौंको मैजुबहालस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।

खाण गृहमन्त्री हुँदा भुटानी शरणार्थीका विषयमा नक्कली प्रतिवेदन तथा कागजात तयार पारिएको, प्रहरी हिरासतमा रहेका सरकारका सचिव टेकनारायण पाण्डेले खाणको संलग्नता र निर्देशनमा आफूले काम गरेको बयान दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । खाण गृहमन्त्री हुँदा पाण्डे गृह मन्त्रालयको सचिव थिए । प्रहरीले बुधबार खाणलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।

सत्तारूढ दल कांग्रेसका नेता खाण पक्राउ परेपछि प्रतिपक्षी दल एमालेमाथि पनि दबाब बढेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्रउ पुर्जी जारी भएपछि फरार रहेका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई एमालेले सचिव पदबाट निलम्बन गरेको छ । पूर्वउपप्रधानमन्त्री रायमाझी प्रतिनिधिसभाका सदस्य पनि हुन् ।

रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएर उच्चस्तरको राजनीतिक वातावरण मिलाउने भूमिका निर्वाह गरेको प्रमाण प्रहरीले फेला पारेको छ । सोहीअनुसार प्रहरीले रायमाझीलाई पक्राउ गर्न यही वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसपछि उनी फरार छन् । एमालेले सचिवबाट बर्खास्त गरेपछि रायमाझीले आफू बिरामी भएर उपचारमा रहेको निवेदन पठाएका छन् ।

यो प्रकरणमा संलग्न भएको आरोपमा तत्कालीन गृहसचिव (पछि उपराष्ट्रपति कार्यालयमा सरुवा भएका) टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार इन्द्रजित राई, फरार भएका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप, कांग्रेस नेत्री सुजाता कोइराला उपप्रधानमन्त्री हुँदा उनको निजी सचिवालयमा रहेका केशव दुलाललगायत १२ जना प्रहरी हिरासतमा छन्।

यो प्रकरणमा नेताहरू मुछिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र बालकृष्ण खाणकी पत्नी मञ्जु खाणलाई गिरोहका सदस्यले करोडौं रकम दिएको भनिएको अडियो पनि सार्वजनिक भएको छ । तर आरजु र मन्जुले उक्त अडियो ‘फेक’ भएको दाबी गरेका छन् । आरजुले उक्त अडियोबारे सत्यतथ्य पत्ता लगाउन माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । यो प्रकरणमा पूर्वगृहमन्त्री थापा र उनका छोरा प्रतीक, गृह मन्त्रालयका कर्मचारी पनि तानिन सक्ने देखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।