२८ आश्विन २०८३, बुधबार

संसदमा ‘अश्लील’ आक्रोशः बाहिर निषेधित क्षेत्र, भित्र माननीय नै अर्धनग्न

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा भीडभाड गर्नसमेत निषेध छ । चारैतर्फ निषेधित क्षेत्रको बीचमा रहेको प्रतिनिधिसभा भवनभित्रै सोमबार प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले विरोधका नाममा अश्लील आक्रोश पोखे ।

उनले सभामुख देवराज घिमिरेले संसद् बैठकमा भ्रष्टाचारका विषय बोल्न खोज्दा समय नदिएको भन्दै कम्मरमाथि लगाएको सर्ट र सेन्डो खोल्दै विरोध गरेका हुन् । उनको विरोधको शैलीलाई ‘अश्लील आक्रोश’ भन्दै सर्वत्र आलोचना भइरहेको छ भने सिंह विवादमा तानिएका छन् । सिंह स्वतन्त्र सांसद हुन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ मा संसद् बैठकको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियम’ उल्लेख छ । सो नियमको ‘धज्जी उडाउँदै जनताबाट निर्वाचित सांसदले संसद् भवनभित्रै बैठक चलिरहँदा कम्मरमाथिको कपडा खोलेको’ आरोप छ ।

सिंहले शरीरमा लगाएको कपडा खोल्दै अघि बढेपछि सभामुख घिमिरेले सांसद सिंहलाई प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गराएका थिए । नियम २१ को खण्ड ‘घ’मा ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्ने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्ने र असंसदीय शब्द प्रयोग गर्न नहुने’ उल्लेख छ ।

सिंहले बोल्न नपाएको आक्रोशमा धमाधम कपडा खोल्दै गएपछि सभामुख घिमिरेले सिंहलाई अश्लील व्यवहार प्रदर्शन नगर्न चेतावनी दिएका थिए । ‘माननीय सदस्य तपाई अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहार नदेखाउनुस्, त्यस्तो अभिव्यक्ति नगर्नुस्, तपाईले जुन व्यवहार देखाइरहनुभएको छ, नियम ३० को आधारमा म तपाइलाई चेतावनी दिन चाहन्छु, तपाई आफ्नो ठीक ढंगबाट बस्नुस्,’ सभामुख घिमिरेले सांसद सिंहलाई चेतावनी दिँदै भने ।

सिंहलाई सभामुखले संसद्को नियमअनुसार शिष्ट ढंगबाट आफ्नो कुरा राख्नेतर्फ विधिको पालना गर्न पटकपटक आग्रह गरेका थिए । सभामुख घिमिरेको चेतावनीपछि सिंहले आफूले खोलेको कपडा पुनः लगाएका थिए । नियम ३० अनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछन् ।

सभामुखको सो चेतावनीलाई पालना गर्दै सिंहले आफूले खोलेको कपडा लगाउन सुरु गरेका थिए । सिंहले सभामुखको चेतावनी ख्याल नगरेको भए उनलाई सभामुखले नियम ३१ अनुसार बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था छ ।

नियम ३१ अन्तर्गत बैठक कक्षबाट निष्कासन शीर्षकमा भनिएको छ, ‘नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ, आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउनेछैन ।’ सो आदेशसमेत नमानेको अवस्थामा नियम ३१ कै उपनियम (१) अनुसार सभामुखले सिंहलाई मर्यादापालक लगाएर प्रतिनिधिसभा बैठकबाटै निकाल्ने अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ । उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने व्यवस्था छ । यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिने व्यवस्था संसद् नियमवालीमा छ । आजको राजधानी दैनिकमा खबर छ ।