
– विश्वास खड्काथोकी
काठमाडौं, ११ जेठ । आइतवार बिहान म्याग्दीको उत्तरी भैग बैसरीमा गएको पहिरोले बैसरी बजारलाई नै खण्डहर बनाएको छ । राम्चे पहाडनै खसेर कालीगण्डकी नदी थुनिएपछि बैसरी बजारका २७ घर खण्डहर बनेको हो ।
आइतवार बिहान करिव १ः४५ बजे पहिरो खसेर थुनिएको नदी १६ घण्टापछि मात्र बग्न शुरु गरेको थियो । पहिरोले बस्तीलाई धुलाम्य बनाइदिएको घटनास्थलबाट पत्रकार प्रताप बानियाले जानकारी दिए । ‘घरहरुको छाना र झ्यालहरु मात्र देखिन्छन्’, पत्रकार बानियाले भने, ‘पहिरोले बस्तीलाई मरुभूमीजस्तो बनाइदिएको छ ।’

दुई दिन पहिलेबाट पहिरो झर्न थालेपछि प्रशासनको सहयोगमा बस्ती सारिएको थियो । बेलैमा प्रशासनले बुद्धि पु¥याएर बस्ती सार्दा मानबिय क्षति हुनबाट भने जोगिएको छ ।
बस्तीनै उठेपछि बैसरी बासी बास बिहीन भएका छन् । उनीहरु कोही आफन्त कहाँ शरण लिएर बसेका छन् त कोहीले त्रिपाल टेन्टमा रात गुजारिरहेका छन् ।
बेनी–जोमसोम सडक अबरुद्ध
बेनी–जोमसोम सडक खण्डमा पर्ने बैसरीमा खसेको पहिरोले आइतवार बिहानदेखि यातायात्र सेवा अबरुद्ध बनेको छ । पहिरोले नदी थुन्दा सडक खण्डको करिव तीन किलोमिटर बाटो भत्कीएको प्रशासनले जनाएको छ । उक्त बाटो खुल्नको लागि लामो समय लाग्न सक्ने समेत प्रशासनले जनाएको छ ।
बाटो अवरुद्ध बन्दा उत्तरी म्यागदीका १० गाविस पनि यातायात सेवाबाट बञ्चित भएका छन् । त्यस सडक खण्डमा दैनिक ससौंको संख्यामा सवारी साधन आवत जावत गर्दथे । उक्त सडक खण्ड मुस्ताङ जोड्ने एक मात्र सडक मार्ग हो ।
मुस्ताङ पर्यटकीय क्षेत्र भएकाले पनि यस सडक खण्ड अबरुद्ध बन्दा मुस्ताङलाई ठूलो क्षति पु¥याउने देखिएको छ । उक्त सडक खण्ड बन्द भएसँगै मुस्ताङबासीलाई दैनिक उपभोग्य सामान ओसार पोसार गर्नको लागि समेत समस्या भएको छ । मुस्ताङको लागि बैकल्पिक रुपमा जोमसोम–पोखरा हवाई मार्ग रहेको छ ।














प्रतिक्रिया