
काठमाडौं, २३ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले आगामी बजेटमा पूर्वाधार विकासलाई महत्वमा राखेर नयाँ ढंगले नीति तथा कार्यक्रम ल्याउने बताएका छन् ।
शुक्रबार माहांकाल गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रदेश सरकारले अवको बजेटमा जनतालाई विकासको अनुभूत गराउने गरी शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी जस्ता पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नयाँ खालको नीति तथा कार्यक्रम ल्याउने जानकारी दिए । उनले भने, ‘शिक्षा,स्वास्थ्य,उत्पादन र रोजगारी क्षेत्रमा नयाँ ढंगले प्रदेश सरकारले नीति कार्यक्रम ल्याउँछ ।’
कृषिको उत्पादन वृद्धि गर्न सरकारले कृषिमा दिएको अनुदान अपर्याप्त रहेको तथा दिएको अनुदान पनि उपलब्धिमूलक नभएकोले कृषिको पकेट क्षेत्र बनाएर संघीय सरकारसंगको समन्वयमा नयाँ मोडेलमा अनुदान दिने गरि संघ सरकारसंग नयाँ मोडलको विकासका लागि तयारी गर्न पहल गरेको बताए । ‘व्यक्तिलाई अनुदान दिएर त्यसले उपलब्धि दिएन भन्ने कुरा सबै राजनीतिक नेतृत्वलाई थाहा छ । त्यो कुरा सबैले स्वीकार गर्नुहुन्छ, तर गर्ने के भन्ने कुरा कसैले विकल्प दिन नसक्ने । त्यसैले मैले प्रधानमन्त्री र संघको कृषि मन्त्रीलाई पनि भनेको छु, एक दुई वटा फर्मलाई नभइ पकेट क्षेत्र बनाएर दुई चार हजार किसानलाई अनुदान दिने मोडेलमा जाने हो । सरकार छ भन्ने कुरा किसानमा जानुपर्छ त्यसैले पकेट क्षेत्र बनाउने तयारी गर्दै छैं ।’ उनले भने ।
मुख्यमन्त्री जमकट्टेलले पूर्वाधारको क्षेत्रमा सडक निर्माणको लागि प्रादेशिक सडक निर्माण गर्ने गाइडलाई नै बनाएर सर्वदलीय बैठकमा छलफल भैरहेको र छिट्टै सरकारले त्यसलाई पास गर्ने आश्वासन समेत दिए । बागमती प्रदेशभर रहेका २६६ वटा सडकलाई प्रादेशिक सडक नामाकरण गरी प्रदेश सरकारले नै बजेट हालेर बनाउने उनको धारणा थियो ।












प्रतिक्रिया