काठमाडौं, ११ जेठ । गत आठ अप्रिलदेखि भारतमा सुरु भएको आठौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०१५को उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।
आर्इतबार राति कोलकत्ताको इडन गार्डेन स्टेडियममा भएको फाइनल खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४१ रनले हराउँदै यो वर्षको उपाधि हात पारेको हो ।

इडन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । २०३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको चेन्नई १५० रन बनाउँदा सबै विकेट गुमायो ।
मुम्बईका लागि लेंडल सिमन्सले चौका छक्काको मद्दतमा सर्वाधिक ६८ रन बनाए । कप्तान रोहित शर्माले ५० रन हाने । मुम्बईका पोलार्ड र राइडुले समान ३६ रन बनाए ।

संघर्षपूर्ण लक्ष्य लिएर मैदानमा आएको चेन्नईका डिआर स्मिथले ५७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन् । चेन्नईका सुरेश रैनाले २८ रन हाने । कप्तान महेन्द्र सिंह धोनी १८ रनमा आउट भएपछि चेन्नईको उपाधि लक्ष्य समाप्त भएको थियो ।
मुम्बईका मिचेल क्लिनागनले ३, लासिथ मालिङ्गा र हरबजन सिंहले समान २–२ विकेट लिएका थिए । यसअघि चेन्नईले उपाधि जित्न सबै तरिका अपनाउने बताएको थियो । तर सफल हुन सकेन् ।
गत वर्ष आईपीएलको उपाधि कोलकत्ता नाइडराइडर्सले जितेको थियो । यसवर्ष कोलकत्ता सेमीफाइनलबाटै बाहिरिएको थियो । एजेन्सी















प्रतिक्रिया