
काठमाडौं, २२ वैशाख । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई वितरण गर्न लागेको रकमका विषयमा सत्ता सहयात्री दलका नेताहरूले असहमति जनाएका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले दिने निर्णयसम्बन्धी कार्यविधि तयार पारिसकेको भएपनि उक्त विषयमा सत्तारुढ ढलका नेताहरूले सार्वजनिक रूपमै असहमति जनाउँदै आएका छन् ।
सत्ताको महत्वपूर्ण घटक नेपाल कम्युुनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि अयोग्य लडाकुलाई रकम दिने कुरा सही नभएको बताए । बिहीबार एक कार्यक्रममा उनले भने– ‘पूर्व लडाकुलाई पैसा दिनेबारे कुरा उठेकै हो । सरकारले निर्णय पनि गरेको छ भन्ने सुनेको छु । तर, यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’
नेपालले मुलुक आर्थिक संकटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने विषयमा आफ्नो पार्टीका असहमति रहेको बताए । लडाकुलाई पैसा बाँड्ने निर्णयका सम्बन्धमा आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको पार्टी अध्यक्ष नेपालको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।













प्रतिक्रिया