
वाशिंगटन डीसी, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रता प्रेमी सबैलाई शुभकामना व्यक्त गरेको छ ।
दिवसको अवसरमा इन्जाले संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्को र विश्व प्रेस जगतसँग ऐक्यबद्धता जनाएको छ । अभिव्यक्ति स्वतन्त्रता मानवधिकारको मुख्य अंश भएकाले यो स्वतन्त्रताको रक्षाका लागि युनेस्कोले मे २ देखि ५ तारिकसम्म न्यूयोर्कमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व प्रेस स्वतंत्रता दिवस मनाइरहेको छ । सोही अवसरमा युनेस्कोँग ऐक्यबद्धता जनाउँदै इञ्जाले प्रेस नोट जारी गरेको हो ।
जारी नोटमा इञ्जाले भनेको छः विश्वमा सरकारहरु प्रेस जगतप्रति अनुदार हुँदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुन्ठित भैरहेको छ भने अर्कोतिर चौथो अंगको रुपमा रहेको सञ्चारले निर्वाधरुपमा अभिव्यक्ति स्वतन्त्रता मार्फत समाजलाई योगदान दिन नसकेको हुँदा इञ्जा विश्वका सरकारहरुको ध्यानाकर्षण गर्दछ ।
युनेस्कोले आयोजना गरेको ४ दिवसीय कार्यक्रममा संसार भरिका पत्रकारहरु, सञ्चार सम्बन्धी संस्थाहरु, अभियन्ताहरु साथै सरकारी प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ । इञ्जाले यस कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गरेको छ ।
सञ्चार जगतको स्वतन्त्रता, पत्रकारमाथिको आक्रमण विरोधी गतिविधिहरु र मिडियाको भविष्यबारे युनेस्को र संसारका सञ्चार सम्बद्ध संस्थाहरुले चलाउने अभियानहरुमा इञ्जाले ऐक्यबद्धता जनाएको हो ।
नेपाली संचार क्षेत्रमा कार्यरत सञ्चारकर्मीको पेशागत हितमा काम गर्न हातेमालो गर्दै विश्व भर रहेका नेपाली मूलका सञ्चारकर्मीबीच सञ्जाल निर्माण गरिरहेको इञ्जा अमेरिकी कानुन अनुरुप स्थापना भइ काम गरिरहेको छ ।
यसैगरी, आज प्रेस स्वतन्त्रता दिवसको अवसरमा इञ्जाले पेशागत कामको सिलसिलामा युक्रेन लगायत संसार भरि विभिन्न ठाउँमा भएका द्वन्दहरुमा अनाहकमा मारिएका रिपोर्टरहरु र अन्य विविध कारणले मारिएका सञ्चारकर्मीप्रति श्रद्धान्जली पनि व्यक्त गरेको छ । साथै पत्रकारहरुको सुरक्षामा ध्यान दिन सरोकारवालाहरुलाई अनुरोध पनि गरेको छ ।
सञ्चार जगतलाई पनि समाजमा मर्यादित र जिम्मेवार भएर भूमिका निर्वाह गर्न इञ्जाले आग्रह गरेको छ ।













प्रतिक्रिया