
काठमाडौं, २० वैशाख । केही दिनदेखिको झरी र बादलले आकाशको घाम छेकेको छ। यही समयमा एसिसी प्रिमियर कपको फाइलनलमा नेपाली टोलीको विजयसँगै नेपाली मनमा क्रिकेटको सूर्योदय भएको छ । एसिसी प्रिमियर कपको फाइनलमा मंगलबार युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएसँगै क्रिकेटमा नयाँ तरंग छाएको छ ।
एसिया कपका लागि छनोट मात्र होइन, नेपाल परेको समूहमा भारत र पाकिस्तानसमेत रहनुले पनि नेपाली टोली र क्रिकेटका समर्थकलाई थप रोमाञ्चित बनाएको छ । सेप्टेम्बरमा हुने म्याचअगावै नेपाली समर्थकले भारत र पाकिस्तानसँग हुने खेलको कल्पनासमेत गर्न भ्याएका छन् ।
फलामको च्युराझैं लाग्ने भारत र पाकिस्तानी टिमसँग पक्कै पनि नेपाली टोलीलाई सजिलो छैन । तर क्रिकेटको एक दिवसीय र्यांकिङमा १४औं स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारत र पाँचौं स्थानको पाकिस्तानलाई हराउन सक्ने कल्पना गर्न नेपाली समर्थक निकै आतुर देखिए । हुरी र झरीमाझ छाता ओढेर, रुखमा चढेर एसिसी प्रिमियर कप क्रिकेटको मज्जा लिएका उनीहरूको कल्पना कम्ता रमाइलो छैन ।
‘गुल्सन झाले भारतका कुलदीप यादवको बलमा छक्का र सोही खेलमा विराट कोहोलीलाई आउट गरेको हेर्ने मन छ,’नेपाली टोलीको विजयको खबरसँगै सामाजिक सञ्जालमा मिलन रायमाझी लेख्छन्, ‘अनि पाकिस्तानसँगको खेलमा सन्दीप लामिछानेले बाबर आजमको विकेट लिएर नेपाली दर्शकतिर फर्केर चिच्याएको हेर्ने रहर छ ।’
कतिपयले क्रिकेटले सिंगो नेपाललाई जोड्न सफल भएको धारणा राखेका छन् । ‘सारा नेपालीलाई एक सूत्रमा बाँध्ने एउटा खेल,’सामाजिक सञ्जालमा रोज ब्लुमिङ लेख्छन्, ‘अनि सम्पूर्ण नेपालीको आशाको एउटा दियो ।’
त्यस्तै कतिपयले नेपाली क्रिकेटमा भएको समावेशितालाई पनि सफलताको कारक मान्दै मुलुक पनि यस्तै समावेशी हुनुपर्ने धारणा राखेका छन् । ‘मल्ल, केसी, सार्की, झा, राजवंशी, ऐरी, पौडेल, कामी, सेख, लामिछाने, जिसी नेपाली टोलीका खेलाडी हुन्,’सामाजिक सञ्जालमा अमृत केसी लेख्छन्, ‘क्रिकेटलाई जस्तै देशलाई उचाइमा पुर्याउने हो भने टोलीबाट एकताको पाठ सिक्न जरुरी छ ।’
त्यसो त नेपाल आजभन्दा २१ वर्षअघि पनि एसिया कपमा छनोट भएको थियो । तर कारगिल युद्धका कारण उक्त संस्करणको खेल रद्द भएपछि नेपालले शक्तिशाली क्रिकेट टोलीसँग खेल्ने अवसर गुमाएको थियो । अब सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले एउटै समूहमा रहेका भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने छ । नेपाली टोलीको सफलतासँगै विभिन्न क्षेत्रका व्यक्तिले खेलाडीको प्रशंसा गर्दै बधाई दिएका छन् । दलका नेतादेखि व्यापारी, सर्वसाधारण सबैको बधाईको ओइरो लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एसिसी प्रिमियर कप क्रिकेटमा विजयी नेपाली टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।
दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मान प्रकट गर्दै सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन् । एसिसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई दिँदै दाहालले भनेका छन्, ‘देशको पहिचान र प्रतिष्ठा एवम् नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीको योगदानको उच्च सम्मान गर्छु । सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’
झरीले निभाउन नसकेको आशाको दियो
त्यसो त नेपालले यो विजयका लागि मंगलबार पर्खनुपर्ने थिएन । सोमबार झरीका कारण खेल रोकिएपछि सफलताको सूर्य उदाउन मंगलबार कुर्नुपरेको हो । सोमबार युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । खेललाई मंगलबार निरन्तरता दिँदा युएई ११७ रनमा अल आउट भयो । युएईविरुद्ध जितका लागि १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेपछि एसिया कपको यात्रा सुनिश्चित बन्यो । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया