
काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने संकेत गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सभापति रवि लामिछानेले बैठकमा राखेका थिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रम पुर्नलेखन गर्न तयार भए सरकारमा सहभागी हुनुपर्ने नेताहरूले बताएका छन् ।
सरकारमा सहभागी हुने नहुने निर्णय भने शुक्रबार लिइने निर्णय भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यस्तै, केन्द्रीय समिति बैठकले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गर्न संसदीय दललाई निर्देशन पनि दिएको छ । संसदीय दलको बैठक आजै बस्दैछ ।
बैठकले विभाग गठन र हाल भएका विभागलाई अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । नीति तथा विभाग विभागको प्रमुखमा डा मुकुल ढकाल चयन भएका छन् ।
यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन भएका छन् । संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।
यसैगरी मानवीय विकास प्रवर्द्धन विभागको प्रमुखमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभाग रामकृष्ण भट्टराई, नेतृत्व क्षमता तथा मानव संशोधन विभाग खुस्बुसरकार श्रेष्ठ, जनसम्पर्क विभाग दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, आर्थिक व्यवस्थापन विभाग निमा अधिकारी, गुनासो व्यवस्थापन विभाग डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभाग अरनिको पाडे, अथ्यांक अनुसन्धान विभाग मनिष झा चयन भएका छन् ।















प्रतिक्रिया