
काठमाडौं, १७ वैशाख । राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने घाटामा चलेको छ ।
नेकपा (एमाले)बाट विभाजित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नौ महिनामा नै सात करोड रुपियाँभन्दा बढीको सम्पत्ति जोडेको छ । नेकपा (माओवादी केन्द्र) प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा दोस्रो ठूलो दल बने पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । निर्वाचन आयोगमा बुझाइएको आय–व्ययको विवरणअनुसार सो दलको मौज्दात करिब १३ करोड छ । कुल आम्दानी भने करिब ४१ करोड छ ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८३ वटा राजनीतिक दलले आय–व्ययको लेखापरीक्षण विवरण समयभित्रै बुझाएका छन् । आयोगमा कुल ११६ दल दर्ता छन् ।
नेकपा (एमाले)को असार मसान्तसम्म ४१ करोड ७२ लाख २० हजार ३१७ रुपियाँ आम्दानी रहेकोमा १५ करोड ७० लाख ७६ हजार ९८३ रुपियाँ खर्च छ । कुल आम्दानीमा चल/अचल सम्पत्तिसमेत गरेर ४१ करोड हुन सक्ने आयोग स्रोतले बतायो । प्रतिनिधि सभामा नेकपा (एमाले)ले ७८ सिट जितेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस भने घाटामा रहेको आय–व्ययको विवरणमा जनाइएको छ । प्रतिनिधि सभामा उसको सिट सङ्ख्या ८९ छ ।
आर्थिक वर्ष २०७८/७९ सम्म सो दलले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपियाँ आम्दानी गरेको छ । तर सो दलको खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपियाँ छ । आयोगमा बुझाइएको विवरणबमोजिम नेपाली कांग्रेसको तीन करोड ८४ हजार १३५ रुपियाँ दायित्व छ ।
संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) छ तर आयोगमा बुझाइएको विवरणबमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने दोस्रो धनी दल हो । प्रतिनिधि सभामा १४ सिट जितेको सो दलको मौज्दात करिब तीन करोड २१ लाख छ ।
सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)को आय र व्ययको विवरण दुईथरीको पाइएको छ । उक्त दलको आम्दानी नौ करोड ८६ हजार ६४ रुपियाँ छ भने सात करोड ४२ लाख ६४ हजार ४३ रुपियाँ खर्च छ । यसरी सो दलको करिब एक करोड ५८ लाख मौज्दात छ । अर्कोथरीको विवरणबमोजिम ३२ लाख २१ हजार ९७१ रुपियाँ बचत छ ।
नाम उल्लेख नगर्न अनुरोध गर्दै आयोगका एक अधिकारीले दुईथरी विवरण रहेको जानकारी दिए । माओवादी केन्द्रको ३२ सिट छ । २०७८ भदौ १ गते नेकपा (एमाले)बाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) भने एक वर्ष नपुग्दै एक करोडभन्दा बढी बचत गरेको छ। आयोगमा सो दलले बुझाएको विवरणअनुसार उसको बचत एक करोड १० लाख ६० हजार ८४८ रुपियाँ छ। छोटो अवधिमै नेकपा (एकीकृत समाजवादी)ले करिब सात करोड रुपियाँभन्दा बढी सम्पत्ति जोडेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।













प्रतिक्रिया