३ कार्तिक २०८३, मंगलबार

अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैनः पूर्वअर्थमन्त्री खतिवडा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, १७ वैशाख । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि शनिबार हेटौंडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्वगभर्नरसमेत रहेका डा खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताए ।

“देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो”, उनले भने ।

त्यस्ता हल्ला रोकिए लगानी भित्रिन सक्ने उनले बताए । “अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिन सक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको अवस्था छ । नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ”, उनले भने । पूर्वमन्त्री खतिवडाले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सभाध्यक्षसमेत रहेका बागमती प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का प्रमुख सचेतक मधुसुदन पौडेल, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, पूर्वउपसभामुख पुष्पा भुसाल, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका सल्लाहकार धर्म स्वर्णकारलगायतले दिगो विकासका लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने कार्य तथा कानुन निर्माणका विविध पाटाका बारेमा धारणा राखेका थिए ।