– गणेश पाण्डे
संचारमन्त्री डा. मिनेन्द्र रिजालको सनकका कारण आइतबार नेपालका अधिकांश अनलाइन न्यूजपोर्टलहरुले सास्ती भोगेका छन् । गद्दीबाट च्यूत भएका पूर्वराजा ज्ञानेन्द्र शाहको शाहीशासनको झल्को दिने गरी मन्त्री रिजालको ठाडो निर्देशनमा नेपालका धेरै न्यूज पोर्टलहरुमा अवरोध सिर्जना गर्ने काम गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कुकृत्यको दैनिक नेपाल डटकम गम्भीर भर्त्सना तथा विरोध गर्दछ ।
नेपालका लागि अनलाइन मिडिया नितान्त नयाँ हो । सीमित स्रोत, साधन र अनेकौँ चुनौतीका बाबजुद पनि अनलाइन मिडियाहरुले जनतालाई सुसूचित गर्ने आफ्नो जिम्मेवारीलाई किञ्चित कमी हुन दिएका छैनन् । झन् महाभूकम्पपछि अनलाइन मिडियाको महत्व झनै बढेको छ । हो, अनलाइन मिडिया पनि कानुनी दायरामा आउनुपर्छ । संचार मन्त्रालय, प्रेस काउन्सिल नेपाल, सूचना विभाग, नेपाल पत्रकार महासंघ, संचार सम्बद्ध संघसंगठन, अनलाइन पत्रकार पत्रकार संघ नेपाल लगायतका सरोकारवालासँगको छलफल र परामर्शमा उचित नीति ल्याइओस् । त्यसका लागि नेपालका उर्जाशील पत्रकारहरु सदैव तत्पर छन् ।
तर, नेपालको अन्तरिम संविधानको समेत ठाडो उल्लंघन गरी देश महाभूकम्पबाट प्रताडित भइरहेका बेला संचारमन्त्रीको ठाडो निर्देशनमा अनलाइन मिडियाको प्रकाशनमा बन्देज लगाउने कुचेष्टा क्षम्य हुन सक्दैन् । सञ्चार मन्त्रालयको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालय समेतको पत्रको आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थाहरुलाई आइतबार केहीबेर विभिन्न साइटहरु ब्लक गर्न लगाएको छ । विश्वकै प्रजातान्त्रिक मुलुक अमेरिकामा पढेका भनिएका र प्रजातन्त्रको कुरा गरेर कहिल्यै नथाक्ने संचारमन्त्री मिनेन्द्र रिजालले नबुझेर अनलाइन मिडियाहरुमाथि अबरोध गर्न खोजेका पक्कै हैनन् । राजा ज्ञानेन्द्रको शैलीमा संचारमाध्यममाथि अंकुश लगाउन खोज्नु नेपालको लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको नयाँ प्रयोग हो । विनाकुनै जानकारी संचारमन्त्री रिजालको नितान्त व्यक्तिगत इगो साँध्न तथा राजनीतिक प्रतिशोधका आधारमा अनलाइन मिडियामाथि जसरी अंकुश लगाउने प्रयत्न गरेका छन्, यसको जतिसुकै भर्त्सना गरे पनि कम हुन्छ ।
संचारमन्त्री रिजालले शाहीकालिन शैली चलाउन चाहन्छन् भने विनम्र उनलाई यही अनुरोध छ– नेपालका अनलाइन पत्रकारहरु जेल जान तयार छन् । तर, त्यसपछिको जिम्मेवारी संचारमन्त्री मिनेन्द्र रिजालले लिनुपर्छ ।














प्रतिक्रिया