
काठमाडौं, १५ वैशाख । नेकपा एमालेले माओवादी लडाकुका नाममा विभिन्न ४ हजार ८०० जना भन्दा धेरै व्यक्तिलाई दुई लाख रुपैयाँका दरले पैसा बाँड्ने सरकारको निर्णयको चर्को विरोध गरेको छ ।
एमालेले नयाँ लडाकुका नाममा पैसा बाँड्नुअघि पुरानाका नाममा माओवादी नेतृत्वले राज्य कोषबाट लेगेको ९५ करोड रुपैयाँको हिसाब पनि खोजेको छ ।
आज बसिरहेको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर एमाले प्रमुख सचेतक पदम गिरीले अनमिनले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई २/२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै माओवादी नेतृत्वले यसअघि लगेको ९५ करोड रुपैयाँको हिसाब खोजेको हो ।
अनमिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको र तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको भन्दै उनले त्यो पैसा कहाँ गयो भनेर प्रश्न गरेका छन् ।
शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिने, तर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने प्रमुख सचेतक गिरिको भनाइ छ ।
मुलुक अहिले आर्थिक संकटमा रहेकाले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४ हजार ८०० भन्दा बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको उनले बताएका छन् ।















प्रतिक्रिया