१६ कार्तिक २०८३, सोमबार

‘मलाई भविष्यप्रति ठूलो भरोसा छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौँ, १० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई भविष्यप्रति ठूलो भरोसा भएको बताउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई ज्ञापनपत्र बुझाउन आएका ३३ दलीय मोर्चाका प्रतिनिधिसँग उहाँले सो कुरा बताउनुभएको हो ।

“समस्त नेपाली एक भए कसैको डर हुँदैन, विभाजित भए खतरा हुन्छ,” उहाँले ज्ञापनपत्र बुझ्दै भन्नुभयो – “मलाई भविष्यप्रति ठूलो भरोसा छ ।”

उहाँले प्राकृतिक विपद्ले जनधनको ठूलो नोक्सान भए पनि सबै नेपाली एकताबद्ध भएमा यसलाई विकासको नयाँ युगको सुरुवातमा बदल्न सकिने सम्भावना पनि औँल्याउनुभयो । उहाँले भन्नुभयो – “मुलुकमा शान्ति र स्थायित्वमात्र दिन सकियो भने नेपालमा लगानी गर्न भारत र चीनलगायतका धेरै मित्रराष्ट्रहरु तयार छन् । विकासको अवसर गुमेका छैनन् ।”

उहाँले हालैको भूकम्पले गरेको विनाश ठूलो चुनौती भएको उल्लेख गर्दै भन्नुभयो – “यसको सामना गर्न एक हौँ । राष्ट्रियता लोकतन्त्र र विकासका निम्ति एक भए कसैले परास्त गर्न सक्दैन ।” उहाँले सबै एकताबद्ध भएर गए मुलुकका समस्या समाधान हुने र सबै सफल हुने पनि बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुक विपत्तिमा परेका बेलामा सबै नेपालीको भावनालाई समेटेर राष्ट्रिय सरकारको गठन गर्न आफू तयार रहेको पनि बताउनुभयो ।

स्थानीय समस्या समाधान गर्न र स्थानीय आवश्यकतानुसार विकासका काम सञ्चालन गर्न स्थानीय निकायको निर्वाचन अपरिहार्य देखिएको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “स्थानीय निकायको चुनाव भएको भए यस्तो विपत्तिको समयमा खोजी, उद्धार र राहत कार्यक्रम अझ प्रभावकारी रुपमा गर्न सकिन्थ्यो ।”

सो अवसरमा संविधानसभाको निर्वाचनमा सहभागी नभएका र संविधानसभामा प्रतिनिधित्व नभएका ३३ दलका तर्फबाट विभिन्न २१ बुँदे ज्ञापनपत्र प्रस्तुत गरिएको थियो । सो ज्ञापनपत्रमा राष्ट्रिय सरकारको गठनसहित स्थानीय निकायको निर्वाचन, प्रभावकारी राहत वितरण, उपयुक्त पुनःस्थापना र पुनःनिर्माण नीति र कार्यक्रम, भूकम्पबाट क्षति भएका सार्वजनिक विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवन, सडक र व्यक्तिगत भवनको निर्माण कार्यलाई सुव्यवस्थित ढङ्गले छिटो गर्नुपर्नेजस्ता विषयहरु समेटिएका छन् ।

राष्ट्रवादीको पनि ज्ञापन

आजै २७ दलीय राष्ट्रवादी मोर्चाका तर्फबाट पनि प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा राहत वितरणलाई समानुपातिक र न्यायोचित बनाउने, सर्वदलीय राष्ट्रिय सरकारको गठन गर्ने, भूकम्प प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनःनिर्माणको कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र वैज्ञानिक तवरले सञ्चालन गर्नुपर्ने विषयहरु समेटिएका छन् ।

ताम्सालिङको पनि ज्ञापनपत्र

यसैबीच शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा ताम्सालिङ संयुक्त सङ्घर्ष समिति नेपालले पनि प्रधानमन्त्री कोइरालासमक्ष एक ज्ञापनपत्र प्रस्तुत गर्दै राहत वितरण प्रभावकारी बनाउन, राहत सामग्री नपुगेका र सडक यातायात नपुगेका दुर्गम क्षेत्रलाई विशेष ध्यान दिन, वर्षामा बाटोघाटो अवरुद्ध हुने क्षेत्रमा खाद्यान्न भण्डारण क्षमता बढाउन, भूकम्प प्रभावित क्षेत्रमा एकीकृत बस्ती विकास गर्दा सामाजिक, धार्मिक र सांस्कृतिक पक्षको विचार गर्न, भूकम्प प्रभावित क्षेत्रमा स्वयम्सेवी परिचालन गर्न, पुनःनिर्माणमा स्थानीय सहभागिता सुनिश्चित गर्न माग गरेको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले मनसुनअगावै भूकम्पपीडितका लागि अस्थायी आवास बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको र स्वयम्सेवी परिचालनलाई तीव्र पारिएको बताउनुभएको थियो ।

उहाँले विपद्को समयमा सबैलाई एकजुट भएर पीडितहरुको सेवामा लाग्न पनि अनुरोध गर्नुभएको थियो । रासस