
काठमाडौं, १० वैशाख । कृषि विकास बैंकले एक अर्ब रूपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा बैंकले एक अर्ब ४ करोड १० लाख ३७ हजार रूपैयाँ खुद नाफा कमाएको हो ।
यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने बैंकको नाफामा ४५ दशमलव ३६ प्रतिशतले कमी भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले एक अर्ब ९० करोड ५३ लाख ९३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफा घटे पनि बैंकको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । सो अवधिमा बैंकले ६ अर्ब २४ करोड ७३ लाख २३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा भने यो ११.८६ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले पाँच अर्ब ५८ करोड ४६ लाख ३९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सो अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ४४ करोड ९९ लाख ५३ हजार रूपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा ५५ करोड ४३ लाख ४८ हजार रूपैयाँ रहेको छ ।
चालू आर्थिक वर्षको ९ महिनामा बैंकले कुल १ खर्ब ८१ अर्ब ५५ करोड ५० लाख ९३ हजार रूपैयाँ निक्षेप संकलन गरि १ खर्ब ७७ अर्ब ३६ करोड ६५ लाख ३९ हजार रूपैयाँ कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेर ४.२० प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रूपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा भने १० अर्ब ५० करोड ६ लाख ९७ हजार रूपैयाँ रहेको छ ।
बैंकको जगेडा कोष भने गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा २.८२ प्रतिशतले बढी हो । बैंकको प्रतिसेयर आम्दनी ७ रूपैयाँ ९० पैसा रहेको छ ।
देशको विद्यमान आर्थिक अवस्था, तरलताको अनिश्चिता, पूँजी बजारमा आएको गिरावट, कोषको लागतमा भएको उल्लेख्य वृद्धि तथा बैंकको निष्क्रिय कर्जा वृद्धिलगायत कारणले नाफा प्रभावित भएको बैंकले जनाएको छ । आउँदा दिनमा कृषि तथा अन्य प्राथमिकता क्षेत्रलाई विशेष ग्राह्यता दिँदै बैंकले नाफा वृद्धि गर्ने योजना बनाएको बताएको छ ।
















प्रतिक्रिया