
काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।
शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरे ।
‘हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभवहरू पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीतिहरू तय गरौँ ,’प्रधानमन्त्रीले भने ।
अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आ–आफ्नै मोडेल भएको बताउँदै प्रचण्डले नवउदारवाद र समाजवादी अर्थतन्त्रका आ–आफ्नै चरित्र र विशेषता भएको बताए । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन नसकिने उनको भनाइ थियो ।
‘हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक छ । हामी कुन बाटो जाने, त्यो महत्वपूर्ण कुरा हो । यसमा धेरैजसो मान्छेहरू अल्मलिएको देख्छु । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ, यो विश्वका अरू मोडेलसँग हुबहु मिल्दैन,’ उनले भने ।
सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाएर अगाडि बढ्न आवश्यक रहेको धारणा राख्दै प्रचण्डले वर्तमान सरकार निजी क्षेत्रका समस्या सम्बोधन गरेर अगाडि बढ्न प्रयत्नशील रहेको बताए ।















प्रतिक्रिया