– विश्वास खड्काथोकी
काठमाडौं, १० जेठ । म्याग्दी भगवती गाविस अन्तरगत बैसरीमा सिंगो पहाड खसेर कालीगण्डकी नदी थुनिए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ । दुई दिन अगाडी सानो पहिरो आएपछि प्रशासनले उक्त स्थानको एक सय ४३ घर परिवारलाइ सुरक्षित स्थानतिर सारेकाले ठूलो क्षति हुनबाट जोगिएको हो ।
दुई दिन अगाडि नै बस्ती सारिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले दैनिक नेपालसँग स्पष्ट पारे । अरु बस्ती नदी थुनिएको स्थानभन्दा धेरै माथि भएकाले पनि ठूलो क्षति नभएको उनले बताए । राती करिव पौने दुई बजे कालीगण्डकीमा चट्टानी सुख्खा पहिरो खसेको थियो ।
डाँडै खस्यो, पहिरो अझै रोकिएन
कालिगण्डकीमा पुरै डाँडा खसेकाले पहिरो निकै ठूलो भएको प्रजिअ केसीले बताए । विहान ६ बसेसम्म नदी रोकिएको स्थानबाट केही मात्रामा पानी निस्कीए पनि त्यसपछि भने पुरै थप्प भएको उनले बताए । उक्त नदी एकै पटक फुटे पुरै बेनी बजार बगाउनेछ ।
पहिरो खस्न नरोकिदा अहिलेसम्म कोही पनि नदी थुनिएको ठाउँसम्म पुग्न सकेका छैनन् । ‘ढुंगा र शुख्खा पहिरो खसिरहेकाले त्यस क्षेत्र वरपर केही देखिने अवस्था छैन’, प्रजिअ केसीले भने, ‘६ जनाको प्राविधिक टोलि हेलिकप्टरमा आए पनि अहिलेसम्म घटनास्थलसम्म पुग्न सकेका छैनन् ।’ नदीमा पहिरो खसेर एक सय मिटर अग्लो ढिस्को भएको उनले बताए । कति बेलादेखि नदी कटान गर्न सकिन्छ भन्ने कुनै टुंगो नभएको पनि उनले बताए ।
खाली बन्यो बेनी बजार
राती करिव पौने दुई बजे पहिरो खसेर नदी थुनिएपछि म्याग्दी सदरमुकाम बेनीका बासीन्दा रातीदेखिनै आतंकित बनेका थिए । अहिले भने बेनी बजरा पुरै खाली बनेको प्रजिअ केसीले जानकारी दिए ।

रातीदेखिनै सदरमुकाम बेनीमा भागदौड मच्चिएको थियो । रातमा कुनै पनि क्षति नभएकाले दिनमा कुनै मानविय क्षति हुन नदिने प्रजिअ केसीले बताए । ताल बनि डुवान हुने सम्भावना भएका सबै बस्तीलाई रातारात सारिएको पनि उनले बताए ।
नदी फुटेमा करिव १४ जिल्ला प्रभावित हुनेछन् । नदी थुनिदा बागलुङ, पर्वत, स्यांजा, नवलपरासी लगायतको ठाउँमा बढी आतंक सृजना गरेको छ ।
२ किमी लामो बन्यो ताल
पहिरोेले थुनिएर बनेको कालीगण्डकीको ताल दुई किलोमिटर लामो बनेको छ । पहिरो खस्न नरोकिएकाले ताल अझ लामो बन्ने सम्भावना देखिएको छ ।
ताल थुनिएपछि बेनी जोमसोम सडकखण्ड पनि डुवानमा परेको छ । यसले गर्दा जोमसोमको मुख्य नाका नै बन्द भएको थियो । मुस्ताङ पर्यटकीय स्थल भएकाले पनि दैनिक सयौँको संख्यामा उक्त बाटोहुँदै मानिसहरु आओत जाओत गर्दथे ।
उक्त ताल एकै पटक फुट्ने सम्भावना भने कम रहेको प्रजिअ केसीले बताउछन् । चट्टानी पहाड खसेकाले पनि ताल एकै चोटी फुट्ने सम्भावना नभएको बताए ।




















प्रतिक्रिया