२९ आश्विन २०८३, बिहिबार

आईएमई अटोमोटिभद्वारा महिलालाई नि:शुल्क हेभी इक्युपमेन्ट अपरेटर तालिम सञ्चालन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरूलाई नि:शुल्क हेभी इक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिम सञ्चालन गरेको छ ।

आज बिहीबारदेखि सुरू भएको तालिम कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

उद्घाटनपछि अध्यक्ष ढकालले महासंघको अध्यक्षको रूपमा आफूले राखेका पाँच वटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पूरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा व्यक्त गरेका छन् । उनले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोंचमा समेत परिवर्तन आउने बताए ।

‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ । तर समय बदलिएसँगै, हेभी इक्यूपमेन्ट अपरेटरमा समेत महिलाहरूले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् । तपाईहरू पनि त्यो पुरातन सोँच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ । तपाईहरूले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ,’ अध्यक्ष ढकालले भने ।

तालिममा सहभागी महिलाहरूलाई सुरक्षित र प्रभावकारी रूपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ । तालिममा १५ जना महिलाहरू सहभागी छन् ।